News

विश्वप्रकाशको नाम पनि यस्ता नेताको सूचिमा !

विश्वप्रकाशको नाम पनि यस्ता नेताको सूचिमा !

आफनै पालिका जोगाउन नसक्ने शिर्ष नेताको सूचिमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि परेका छन् । उनको गृहनगर मेचीमा कांग्रेस पराजित भएको छ। मेयर र उपमेयर दुवै एमाले उम्मेदवार निर्वाचित भएका छन्।

मेयरमा गोपालचन्द्र बुढाथोकी र उपमेयरमा मीनाकुमारी पोखरेल निर्वाचित भइन् । यसैगरी, मेची नगरका १३ वटा वडा मध्ये २ वटामा मात्रै कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अन्य ११ वटामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. ६ र ८ कांग्रेसले जितको छ भने अन्य सवै वडा एमालेले जितेको छ।

मेचि नगरमा नेपाली कांग्रेस लगभग पत्तासाफ भएको छ। उनी वाहेक अन्य धेरै शीर्ष नेताले आफनो वडा र पालिकामा इज्जत जोगाउन सकेका छैनन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको डडेलधुराको गन्यापधुरा गाउँपालिका–१,

एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्य विनायक नगरपालिका–२ मा नेपाली कांग्रेसका प्रदिप कार्की निर्वाचित भए। एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको गृह वडा कैलालीको गोदावरी नगरपालिका–१ मा नेपाली काँग्रेसका गोपाल दत्त भट्ट निर्वाचित भए।

जसपा अध्यक्ष उपेन्द्र यादवले मतदान गरेको विराटनगर महानगरपालिका–१४ मा एमालेको प्यानलै विजयी भयो । एमाले स्थायी कमिटी सदस्यद्वय लालबाबु पण्डित र गुरु बरालले मतदान गरेको विराटनगर–१२ को वडाध्यक्ष जसपाले जितेको छ।

कांग्रेस नेता मीनेन्द्र रिजालले मत हालेको विराटनगर–२ मा वडाध्यक्ष एमालेले जितेको छ । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेको वडा–७ सहित इलाम नगरपालिकामा पार्टीलाई जिताउन सकेनन । 

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको वडा कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा एकीकृत समाजवादी उम्मेदवार विजयी भएका छन । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीको गढवा गाउँपालिका–१ मा एमालेका बाबुराम चौधरी विजयी भएका छन । 

पूर्वमन्त्री अग्नि खरेलले बिर्तामोड–५ बाट मतदान गरे । अघिल्लोपल्ट एमाले प्यानलै जितेको उक्त वडाको अध्यक्ष यसपटक कांग्रेसले जित्यो। धनुषाको नगराइन नगरपालिका–२ बाट मत हालेका कांग्रेस नेता विमलेन्द्र निधिले त्यही वडामा कांग्रेस उम्मेदवार जिताउन सकेनन । उक्त वडाबाट लोसपाका उम्मेदवारले जिते।

जनकपुर उपमहानगरपालिका–९ मा मत हालेका एमाले नेता रघुवीर महासेठको वडामा कांग्रेस प्यानलै विजयी भयो। महोत्तरीमा माओवादीका नेता गिरिराजमणि पोखरेलको वडामै एमालेले जित हात पा¥यो । 

सर्लाहीमा लोसपा केन्द्रीय अध्यक्ष महन्थ ठाकुर वडा मलंगवा नगरपालिका–८ मा लोसपाले वडाध्यक्षको उम्मेदवारसमेत पाउन सकेन । त्यहाँ जसपाका तर्फबाट मुकेश जयसवाल वडाध्यक्ष निर्वाचित भए । लोसपाकै वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको वडा चन्द्रनगर गाउँपालिका–२ बबरगन्जमा कांग्रेसका शम्भुप्रसाद साह तेली विजयी भए ।

०७४ मा एमालेले बहुमत ल्याएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको क्षेत्र झापाको भद्रपुर नगरपालिकामा यसपटक कांग्रेसले बहुमत ल्याउँदा पनि सिटौलाले आफ्नै १० नम्बर वडा जोगाउन सकेनन। भद्रपुर–१० मा एमालेका टेकबहादुर खड्का कांग्रेसका विष्णुप्रसाद काफ्लेलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि प्यानलसहित निर्वाचित भए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखामा आफ्नै वडा र पालिका जोगाउन सकेनन । श्रेष्ठको वडा सिरानचोक गाउँपालिका–८ मा कांग्रेसका दलमान गुरुङ निर्वाचित भए । वडासँगै श्रेष्ठको गृहपालिका सिरानचोकमा अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेको बुटवल उपमहानगरपालिका–८ मा कांग्रेसका यज्ञप्रसाद पंगेनी विजयी भए।  
 

विशेष