News

केशव स्थापितले बालेनलाई ‘मनु मखु:, मर्स्या ख:’ भन्न खोजेका हुन् ?

केशव स्थापितले बालेनलाई ‘मनु मखु:, मर्स्या ख:’ भन्न खोजेका हुन् ?

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले जातको कुरा उठाएर स्वतन्त्र उम्मेदवार बालेन साहलाई ठगको संज्ञा दिएका छन्। बालेनले आफनो जात लुकाएर काठमाण्डौंवासीलाई ठगेको उनको आरोप छ।

आईतवार एउटा कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा स्थापितले भने –‘म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ क्या बालेन शाह । हिजो के कुरा खुल्यो भने ऊ त यहाँको शाह नै रहेनछ, मधेशतिरको शाह रहेछ । सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत के हुन्छ ? सुरुवातमै ठग क्या, दर्तावाल ठग । सबै काठमाडौंबासीलाई ठग्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरेर आउनु पर्दैन ?’

स्थापितको यो अभिब्यक्तिले पुरानो काठमाण्डौको स्मरण गराएको छ। काठमाण्डौका मानिसहरु मधेशी समुदायका मानिसहरुलाई मान्छेको दर्जा नै दिदैनथे, भनिन्छ। काठमाण्डौवासीले मधेशी समुदायलाई गर्ने ब्यवहारको निकै पुरानो एउटा प्रशंग छ। काठमाण्डौंको गल्लीगल्लीमा घुमेर तरकारी वेच्ने एक जना मधेशी समुदायका ब्यक्ति रहेछन्। उनी घुम्दै र हल्ला गर्दै जाँदा घरको एक जना मानिसले ‘हल्ला गर्ने को हो हेरत’ भनेर नेवारी भाषामा भनेछ। झ्यालबाट हेरेर अर्कोले उत्तर दिएछ–`मनु मखु:, मर्स्या ख:।’ यसको अर्थ हुन्छ–मान्छे होईन, मधेशी हो। उनी मात्रै होईन, काठमाण्डौंमा हरेक मधेशीलाई गर्ने ब्यववहार यस्तै हुन्थ्यो।

तर, अहिले समय फेरिएको छ। समयसँगै मधेशी समुदाय र काठमाण्डौ पनि फेरिएको छ। एकातर्फ काठमाण्डौको नेवार समुदायले नै बालेनलाई भोट दिएर मधेसीप्रती सम्मान देखाउन सक्ने अवस्था तयार भएको छ भने अर्कोतर्फ काठमाण्डौमा गैर नेवारको जनसंख्या पनि उल्लेख छ। तसर्थ बालेनलाई जातका आधारमा कमजोर सोच्नु गलत सावित हुन सक्छ।

कानुनी हिसावमा पनि जात, धर्म, रङ, बर्णआदिका आधारमा होच्याउने काम गर्नु अपराध हो। जातिवादी, धर्मवादी, रङवादी, बर्णवादी हुनु मुर्खता पनि हो। काठमाण्डौकै कतिपय ब्यक्ति भन्छन–‘बालेन मधेसी नै हुन भने ‘मधेसी हुनुमा’ उनको के दोस ?’ त्यसमाथि मधेशी समुदाय अव कोही भन्दा कम छैनन् भन्ने कुरा छ समयले देखाई सकेको छ। पटक–पटक भएका मधेश आन्दोलनले पनि के देखाएको छ भने आफनो अधिकार रक्षाका लागि उनीहरु सक्षम छन्। 

जातको आधारमा आफुलाई ठुलो र अरुलाई सानो देखाएर चुनाव जित्ने सोच आफनै लागि खतरा हुन सक्ने काठमाण्डौवासी नै वताउन थालेका छन्।

यो पनि,

केशव स्थापित बालेन शाह

विशेष