News

पाल्पामा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, रुकुम पश्चिममा कांग्रेसका उम्मेदवार कुटिए

पाल्पामा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, रुकुम पश्चिममा कांग्रेसका उम्मेदवार कुटिए

पाल्पामा एमाले र कांग्रेसका कार्यकर्ता विच हानाहान भएको छ। स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा कालीगण्डकी करिडोर सडकमा हानाहान भएको हो। यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा हिजो दिउँसो कांग्रेसको झण्डा सहितका १ सयवढि कार्यकर्ता आएर एमाले कार्यकर्तालाई कुटेको दावी गरेका छन् ।

नेपाली कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि कुटपिट गरेको दाबी गरेका छन् ।

दुबै दलले कुटपिटपछि भएको भौतिक र मानवीय क्षतिको क्षतिपूर्ती भराउन माग गरेका छन् ।

यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–८ मा माओवादी कार्यकर्ताले कांग्रेसको वडाध्यक्ष पदका उम्मेदवार चन्द्रवहादुर वुढासहित चार जनालाई धुलो पारेर कुटेका छन्। उनीहरु घाइते छन्। 

चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका हुन। उनीहरुको टाउको, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने तयारी भइरहेको छ। 

वाईसिएल कार्यकर्ताले उनीहरुको घरका ढोकासमेत तोडफोड गरेका छन् । स्रोतका अनुसार कांग्रेस कार्यकर्ता अमर बोहराकी श्रीमती दीर्घ रोगी रहेको र उनलाई भेटघाट गर्न पुगेका समयमा उम्मेदवार बुढा लगायतका नेता कार्यकर्तामाथि एकाएक आक्रमण भएको थियो। 
आक्रमण राजनीतिक प्रतिशोधका कारण भएको प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकामदेखि झन्डै ७÷८ घन्टा पैदल दुरीमा पर्ने हुँदा ढिला गरी खबर पाएको प्रहरीको भनाई छ। 

विशेष