News

बुद्धले शान्ति गुमायोः घण्टौ कुराएर विरामीलाई विमानमा चढ्न दिएन

बुद्धले शान्ति गुमायोः घण्टौ कुराएर विरामीलाई विमानमा चढ्न दिएन

धनगढिमा टिकट काटेर बोर्डिङ पास गराएको विरामी बोक्न नमानेको भन्दै निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरको अहिले तिव्र आलोचना भईरहेको छ। सामाजिक सञ्जालमा बुद्ध एयर वहिस्कार गर्नेसम्मका प्रतिक्रियाहरु आउन थालेका छन् ।

आगोले जलेर सिकिस्त अवस्थामा रहेकी बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षिय लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छोडेर उडेको थियो। अघिल्लो दिन नै टिकट बुक गरेकी उनी बुधबार साँझ पाँच बजे एयरपोर्ट पुगेकी थिइन्। जहाजको उडान तालिका साँझ ७ बजेर २५ मिनेटमा थियो।  एयरपोर्टका बुद्ध एयरका कर्मचारीले उनलाई उडान केही घण्टा ढिलो हुने भन्दै पर्खाएर राखे।

त्यति बेलासम्म बुद्ध एयरका कर्मचारीले घाइतेका श्रीमान् एकेन्द्रसँग मन्जुरीनामा कागज बनाएर हस्ताक्षर गराइसकेका थिए। घाइते वा गम्भीर प्रकृतिका बिरामीलाई विमानमा लैजानुअघि परिवार वा नजिकका आफन्तसँग मन्जुरीनामा लिने गरिन्छ। त्यसपछि घाइते रसहयोगीको रूपमा गएका श्रीमानको गरी २ ओटा टिकेटको बोर्डिङ पास दिइसकेको थियो। बुद्धका कर्मचारीले घाइतेको अवस्था समेत हेरेका थिए। ह्वील चियरमा बसिरहेकी घाइतेले आफू विमानमा बस्न सक्ने बताएकी थिइन्।

काठमाडौं जान पर्खिरहेका यात्रुसँगै उनीहरु पनि राति ९ बजेसम्म विमान कुरेर वसे। विमान धनगढी पुग्यो। केही बेरपछि यात्रुलाई विमानमा चढाउन विमानस्थलको १ नम्बर गेटबाट रनवेतिर बोलाइयो। घाइते लोकशरीलाई पनि ह्विलचियरमा लैजादै गर्दा बुद्ध एयरका कर्मचारीले रोके। 

चिकित्सकले पनि घाइतेलाई जहाज चढ्न मिल्छ भनेर सिफारिस गरेका थिए। घाइतेसँगै बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाह पनि एयरपोर्ट पुगेका थिए। उनैले घाइतेको टिकट बन्दोबस्त गरिदिएका थिए। चार घण्टा कुराएर मन्जुरीनामा र बोर्डङ पास बनाइसकेको घाइतेलाई लैजान नसक्ने बताएपछि विमानस्थलसम्म छाड्न गएकाहरूले जसरी पनि लैजान भन्दै अनुनय विनय गर्न थाले।

तर, पाईलटले नमानेको भन्दै बुद्धका कर्मचारीले उनीहरुको कुरा सुनेनन्। त्यसपछि आफन्त र सहयोगी मिलेर उनलाई ३६ हजारमा एम्बुलेन्स भाडामा लिएर काठमाण्डौंका लागि पठाएका छन् ।

बाजुरा बुढिगंगा १० लोकशरी अछामको बयलपाटा अस्पतालमा उपचाररत थिइन्। बयलपाटा अस्पताले उपचार सम्भव नभएको भन्दै काठमाडौं रिफर गरेको थियो। उपचारको लागि ढिला हुँदा उनको अवस्था जटिल बनेको श्रीमान् एकेन्द्र कुँवर बताए।

घाइतेलाई अस्पतालले रिफर गरे पनि उपचारको पैसा नभएपछि विभिन्न व्यक्तिसँग सहयोग जुटाइएको थियो। बुद्ध एयरलाइन्सले नलगेपछि फेरि एम्बुलेन्सको लागि पैसा जुटाउँदा केही समय लागेको थियो।

बुद्ध एयर धनगढीका व्यवस्थापक बुद्धराम चौधरीले भने बिरामी बस्न नसक्ने भएकाले लैजान नमानेको बताए। यस विषयमा कुरा गर्न खोज्दा वुद्ध एयरका कम्युनिकेशन म्यानेजर दिपेन्द्र कर्णले भने फोन उठाएनन्।

विशेष