News

सर्वोच्चले आफनै निर्णय उल्ट्याएर पूर्व डिआईजीलाई जेल पठायो

सर्वोच्चले आफनै निर्णय उल्ट्याएर पूर्व डिआईजीलाई जेल पठायो

पत्नी हत्याका आरोपी सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने फैसला सर्वोच्च अदालतले उल्ट्याएको छ। कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको आफ्नै फैसला उल्ट्याएको हो।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले दुई वर्षअघि कोइरालाको कैद मिनाहा गरेको थियो । श्रीमतीको हत्या गरी शव समेत नष्ट गरेका कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्षमात्रै कैद बस्दा पनि हुने भन्दै फैसला सुनाएको थियो । 

इजलासले श्रीमती हत्या गर्ने कोइरालाको काममा ‘आवेश’ देखिएको र उनको घरमा बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको भन्दै कैद मिनाहाको राय सुनाएको थियो । यो फैसलापछि तत्कालिन प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको चौतर्फी आलोचना भएको थियो ।

त्यो फैसलापछि रिहा भएका कोईराला ८ वर्षमात्र कैद बसेका छन्। अव उनले थप करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ । सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघिको फैसला सदर गरेपछि ‘राय लगाएको’ नमिलेको भन्दै जन्मकैदकै सजाय हुनुपर्ने फैसला गरेको अदालत प्रशासनले जनाएको छ।

त्यतिबेलाको कानून अनुसार जन्मकैदको सजाय हुदा २० वर्ष कैद बस्नुपर्ने थियो । 
 

रञ्जन कोइराला

विशेष