News

बालेन्द्रलाई फेसबुकमै श्रीमतीको बधाई– तिमीलाई कहिले हार्न दिने छैन

बालेन्द्रलाई फेसबुकमै श्रीमतीको बधाई– तिमीलाई कहिले हार्न दिने छैन

निर्वाचन आयोगले मेयर घोषणा गरेपछि सम्भवतः बालेन्द्र साह घर जान पाएनन्। विजय जुलुसमा सहभागि हुनु पर्ने र मतदातालाई धन्यवाद ज्ञापन गर्नुपर्ने कार्यक्रमले उनलाई भ्याई–नभ्याई भयो।

उनको यही ब्यस्ततालाई ध्यान दिदै मेयर बालेन्द्रलाई श्रीमती सविना काफ्लेले पनि सामाजिक सञ्जालबाटै बधाई दिएका छिन् । बालेन्द्र मेयर निर्वाचित भएको घोषणा पछि फेसवुकमा उनले भावुक स्ट्याटस लेखेर ‘अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस्’ भन्ने शुभकामना पनि दिएकी छिन् ।

सविनाले ‘आजदेखि मेरो बालेनबाट हाम्रो बालेन भयौ’ भन्दै पतिलाई जनतामा समर्पण गरेकी छिन् । ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ’– उनले लेखेकी छिन्। 

बालेनको संयमता नै शक्ति भएको भन्दै सविनाले उनले दिन रात नभनी गरेको  मिहेनतको फल आज सबै सामु प्रष्ट भएको उल्लेख गरेकी छिन् । उनले बालेनको धैर्यता र दृढतालाई नमन् गरेकी छिन्!

‘घरी–घरी डर पनि लाग्छ, अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ’ उनले लेखेकी छिन्–‘चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरे जस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।’

‘अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस्’ भन्दै उनले ‘पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस्’ भन्दै शुभकामना दिएकी छिन्। ‘तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास, मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ’– उनले लेखेकी छिन्। 
घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार्दैन भन्दै उनले लेखेकी छिन्–‘म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।’


 

बालेन्द्र साह

विशेष