News अर्थ

ससः त्वाः रेन्टुरेन्टः ज्वाईलाई ससुराली बोलाएर ठगी गर्ने धन्दा

ससः त्वाः को गैरकानुनी असुलीः मेन्युभन्दा २५ प्रतिशत वढाएर विल 

ससः त्वाः रेन्टुरेन्टः ज्वाईलाई ससुराली बोलाएर ठगी गर्ने धन्दा

कीर्तिपुर पाँगा दोबाटोदेखि ढल्पा चोक हुँदै केही दूरी पार गरेपछि ओरालोमा ‘ससः त्वाः’ नामको नेवारी रेष्टुरेन्ट छ। यहाँको खाने परिकार मात्र होईन, वस्ने ठाउँ, सुन्ने गीतसम्म सवै नेवारी कला, संस्कृतिसँग सम्वन्धित छन्।

यहाँ मुल ढोका देखिनै नेवारी संस्कृतिको झलक पाईन्छ। पाटीपौवा, मन्दिर, ढुङ्गेधारा, इनार सवै छन् यहाँ, सवैमा नेवारी संस्कृति जोडिएको छ। सञ्चालकका अनुसार यहाँ ९९ प्रतिशत नेवारी परिकार पाईन्छ।

यहाँ बुढापाकाका भजन पनि सुन्न पाइन्छ। ‘बार’ मा नेवारी छ्याङ, औला, हुक्का तथा अन्य ब्राण्डका पेय प्रदार्थ पाइन्छन्। फोटो खिच्नेहरुका लागि आकर्षक ठाउँ छ। ग्राहकले चट्ट चकटीमा बसेर नेवारी खानाको आनन्द लिन सक्छन्। समग्रमा यहाँको कला शैली, परिकार र सत्कारले सवैको मन खिच्छ।

यो रेष्टुरेन्टमा उच्च सरकारी अधिकारीदेखि प्रतिष्ठित ब्यापारी, कलाकार तथा स्वेदशी र विदेशी पर्यटकसम्म झुम्मिन्छन्। उसो त ‘ससः त्वाः’ को अर्थ नै ससुराली टोल हो। नेपालीमा ससः को अर्थ ससुराली र त्वाः को अर्थ टोल भन्ने हुन्छ। त्यसैले नामैले स्पष्ट हुन्छ, ससः त्वाः मा जाने ग्राहकले ससुरालीमा ज्वाईले पाएको सम्मान र सत्कार पाउँछन्। तर पैसा खर्चेर, त्यो पनि कानुनले निर्धारण गरेको भन्दा वाहिरबाट पनि।

खर्च पनि सामान्य हुँदैन, अन्य रेष्टुरेन्टको तुलनामा यहाँका हरेक वस्तु र परिकार महंगा छन् । सामान्य मान्छेले यहाँको मुल्य धान्न सक्ने अवस्था छैन। त्यति मात्र होईन, यो रेष्टुरेन्टले गैर कानुनी रुपमा पैसा असुल गरिरहेका पाईएको छ।

नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अनुसार कुनै वस्तुको विक्रि मुल्यमा छुट्टै भ्याट र सर्भिस चार्ज जोडेर लिन पाईदैन। यदि त्यस्तो गरियो भने त्यो गैरकानुनी हुन्छ। मूल्य अभिवृद्धि कर नियमावली, २०५३  को नियम १४ (ख) मा स्पष्ट भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’

तर, ससः त्वाःले यो कानुनको उलंघन गरिरहेको छ। रेष्टुरेन्टको मेनुमा एउटा मूल्य राख्ने र ग्राहकसँग कुनै वस्तुको मूल्य लिँदा त्यसमा भ्याट र सेवा शुल्क जोडेर लिने गरेको छ । त्यसो गर्दा ग्राहकहरु पनि अन्यौलमा पर्ने गरेका छन् । ‘त्यसरी उठाएको भ्याट बुझाए÷नबुझाएको पनि यकिन नहुने भयो’ एक ग्राहक भन्छन्, ‘यो त सरासर ठगी नै हो ।’

भ्याट नियमावली अनुसार मेनुमा भ्याट र सर्भिस चार्जसहितको मूल्य राख्नुपर्ने स्पष्ट ब्यवस्था भएपनि बाहेकको मूल्य राखेर भ्याट सम्बन्धि कानुन मिचेको जानकारहरु वताउँछन् । यो रेष्टुरेन्टले मेनुमा तोकिएको शुल्कको अतिरिक्त १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट भन्दै सेवाग्राहीबाट रकम असुल गर्ने गरेको भेटिएको छ । 

यो प्रवृत्ति यहाँ मात्र होईन, अन्य होटेल तथा रेस्टुरेण्टमा पनि पाईन्छ। मूल्य अभिवृद्धि कर नियमावली विपरित मेनु राखेर असुली गरिरहेको विषयमा भ्याट सम्बन्धि नियम कार्यान्वयन गर्ने निकाय आन्तरिक राजश्व विभागले भने नियम सवैले पालना गर्नु पर्ने वताउने गरेको छ। विभागका एक अधिकारीले भन्छन्–‘नियममा जे लेखिएको छ, त्यो अक्षरस पालना गरिनुपर्छ। नियम पालना नगर्ने जो कोहि पनि कारवाहीको भागीदार हुनुपर्छ ।’ तर, वर्षौदेखि यसैगरी चलिरहेका होटल÷रेष्टुरेन्टलाई नियमन गर्ने विषयमा भने चासो दिएको पाईदैन।

यता, ससः त्वाः का म्यानेजर राजन रायले भने आफुहरुले गैरकानुनी रुपममा रकम असुलेको विषय स्विकार गरे। तर, ‘गैर कानुनी’ भन्ने शब्दमा भने उनले असन्तुष्टि जनाए । ‘यसलाई गैरकानुनी नै चै भन्न मिल्दैन। किनकी भ्याट र सर्भिस चार्ज ग्राहले नै तिर्ने हो’ उनी भन्छन्–‘तर, मेन्यु र विलमा देखिने फरक चै छ। त्यसलाई हामी सुधार गर्दैछौं ।’

उनले हप्ता दिनभित्रै भ्याट र सर्भिस चार्जसहितको मेन्यू प्रयोगमा ल्याउने जानकारी दिए।  


 

ससः त्वाः

विशेष