News अर्थ

अर्थमन्त्रीले आज वजेट प्रस्तुत गर्ने, यस्ता छन प्राथमिक्ताका विषय

अर्थमन्त्रीले आज वजेट प्रस्तुत गर्ने, यस्ता छन प्राथमिक्ताका विषय

सरकारले आज बजेट सार्वजनिक गर्ने गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७९/०८० को वार्षिक आयव्यय प्रस्तुत गर्नेछन्।

सरकारले शनिबार मात्रै प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण सार्वजनिक गरेको थियो। नीति तथा कार्यक्रम प्रतिनिधि सभाले पारित गरेको छ।

आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको जनाईएको छ । कोरोनाबाट सामान्य अवस्थामा फर्किन लागेको मुलुकको अर्थतन्त्र रुस र युक्रेन सङ्घर्षका कारण चापमा छ ।

विदेशी मुद्राको सञ्चिति घटिरहेका वेला आगामी आवको बजेटमार्फत धेरै विषयमा सम्बोधन गर्नुपर्ने माग चौतर्फीरुपमा उठेको छ । औद्योगिक वातावरण तयार पार्ने, कृषि क्षेत्रको विकास र उन्नयनलाई केन्द्रमा राखेर बजेट तयार पारिएको अर्थमन्त्रालय सम्बद्ध अधिकारीको भनाइ छ ।

यस्तै केही ठूला आयोजनालाई पनि बजेटले सम्बोधन गर्नेछ । बूढीगण्डकी जस्ता आयोजना सरकारले आन्तरिक लगानीमा नै निर्माण सुरु गर्ने तयारी गरेको छ । शनिबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि स्रोतको अभाव नहुने र व्यवस्था गरिसकिएको जानकारी दिएका थिए।

कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना मुलुकको ऊर्जा सुरक्षाका लागि पनि आवश्यक छ । यस्तै पेट्रोलियम पदार्थको निर्भरता कम गर्न विद्युतीय सवारी साधनको प्रवद्र्धन, विद्युतीय चुल्होको प्रयोगमा बढावा दिने, कृषि सिँचाइ तथा सुख्खाटारको सिँचाइलगायतका विषयलाई बजेटले प्रमुख प्राथमिकतामा राखेको छ ।

बजेटको सैद्धान्तिक विषयमा छलफलका क्रममा नै अर्थमन्त्रीले बजेटको प्राथमिकताका बारेमा सामान्य जानकारी दिइसकेका छन् । आन्तरिक खपतका लागि पैठारी नगरे पनि हुने केही वस्तुमा करको दर वृद्धि, करको दायरा विस्तारलगायतका विषयलाई पनि बजेटले सम्बोधन गर्नेछ ।

मन्त्रिपरिषद्को आजै बस्ने बैठकले बजेट पारित गरेपछि अर्थमन्त्रीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन् ।
 

विशेष