News

दुर्घटनाग्रस्ता ताराको विमानमा सवार कोही पनि जिवित भेटिएनन् 

दुर्घटनाग्रस्ता ताराको विमानमा सवार कोही पनि जिवित भेटिएनन् 

तारा एयरको जहाज वेपत्ता भएको २४ घण्टापछि सुरक्षाकर्मीको टोली विमान दुर्घटना भएको स्थानमा पुगेको छ। कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको हो।

चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा गोठाला र यार्सागुम्बा टिप्न गएका स्थानीयबासीले भेटेका थिए।

थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करीब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको हो। त्यहाँ पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्द्रसिंह शेरचनले कोही पनि जीवित अवस्थामा नभेटिएको बताएका छन् ।

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको उनले सञ्चारकर्मीलाई वताएका छन् । पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइरहेको थियो । तर आइतबार अँध्यारो र मौसम प्रतिकुल भएका कारण नेपाली सेनाको खोजी तथा उद्धार टोली जोमसोम फर्किएको थियो ।

तर, शेरचन, सुमित गौचन र नेपाल प्रहरीका एकजना इन्स्पेक्टर यार्सागुम्बा खोज्ने किसानसँगै राति यहीँ बसेका थिए। किसानहरुकै सुचना अनुसार आज बिहान विमान वारे पहिलो जानकारी प्राप्त भएको थियो।

उनले शवहरु जलेको र क्षतविक्षत भए पनि कतिपय अनुहार चिन्न सकिने अवस्थामा रहेको जनाएका छन् । 

सुरक्षाकर्मीको अर्को टोली पैदलमार्ग हुँदै घट्नास्थल पुग्ने क्रममा छ। जहाँ करिव १ सय जना छन्। टोलीले यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना रहेको मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिए ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् । 

तारा एयर

विशेष