नेपाल टेलिकमको एप प्रयोग गरेर पाउनुहोस यति धेरै सुविधा
नेपाल टेलिकमको एपमा नयाँ सुविधाहरु थप भएका छन् । टेलिकमले सेवाग्राहीहरुका लागि उपयोगी हुने गरी सुविधाहरु थपेर एप अपडेट गरेको हो। पहिले देखि नै विभिन्न सुविधाहरू प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको टेलिकमले जनाएको छ ।
‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ। आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता एपमा अपडेट भएका छन् । यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिने छ ।
फाइबर टु द होम अर्थात एफटीटीएच प्रयोगकर्ताहरूले एपमार्फत एफटीटीएचको सिपिई रिस्टार्ट गर्न, वाईफाईको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महसुल तिर्न सकिनेछ । नमस्ते पे सेवा पहिलो पटक एपमा समावेश गरिएको छ ।
नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरू अपडेट युजर केवाईसी मार्फत नवीकरण गर्न सकिने छ । त्यसैगरी डिलरहरूले एमपोस समेत लगइन गर्न सकिने टेलिकमले जनाएको छ । एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच लगायतका सेवाहरूको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरू उपभोग गर्न सकिन्छ ।
नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरू खरिद गर्न र प्याकेजको अवस्था वारेमा सहजरुपमा जानकारी प्राप्त गर्न पनि सकिने जनाईएको छ।
ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, आफन्त वा साथीलाई विभिन्न प्याकेजहरू उपहारको रुपमा पठाउन पनि यो एप उपयोगी छ। विभिन्न प्रकारका भ्यालु एडेड सर्भिसको प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरूमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरूको बिल तिर्न पनि सकिने जनाईएको छ।
कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरूको महसुल दरबारे जानकारी लिन पनि सकिन्छ ।
एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरू डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ ।
यसका लागि गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नुपर्छ। नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि एप चलाउन सकिन्छ । पहिलो पटक एप डाउनलोड गर्दा ५ सय एमबी डाटा समेत निःशुल्क प्रयोग गर्न सकिने सुविधा कम्पनीले उपलब्ध गराइरहेको छ ।
यो एपमा लगइन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो बारे जानकारी प्राप्त गर्न सकिन्छ ।