News

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो, के हो ब्ल्याक बक्स ?

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो, के हो ब्ल्याक बक्स ?

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ। उद्वारका लागि गएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले विमानको ब्ल्याक बक्स भेटाएको हो।

विमान दुर्घटनामा परेपछि ‘ककपिट भ्वाइस रेकर्डर’ भनिने ब्याक बक्सलाई प्राथमिकताका साथ खोजिन्छ। यो एक प्रकारको रेकर्डर हो । यो रेकर्डरमा विमान दुर्घटना हुनुभन्दा अघि २ घण्टाको आवाज रेकर्ड हुन्छ ।

ब्ल्याक बक्सबाट दुर्घटनाको अन्तिम बेलासम्म चालक दलबीच भएका कुराकानीसँगै अन्य विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ। दुर्घटनामा पर्नुअघि चालक दलका सदस्यले एकआपसमा गरेको संवाद र टावरसँग भएको संवाद रेकर्ड भएको हुन्छ।

ब्ल्याक बक्समा इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुन्छ । यसबाट दुर्घटनाका बेला जहाजमा कस्तो अवस्थामा थियो । पाइलटहरुले के कस्तो कुरा गरेका थिए ? यी सवै कुरा जानकारी पाउन सकिन्छ।

विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सकुशल रहन्छ र यसमा रेकर्ड भएको आवाजको आधारमा दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ ।

ब्ल्याक बक्स विमानको पछिल्लो भागमा पंखाको साईडमा राखिएको हुन्छ। खास गरी यसको सुरक्षाको हिसावले विमानको पछिल्लो भागमा राखिएको हुन्छ । यो बक्स एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ। यसलाई आगोले पनि जलाउन सक्दैन । समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।

ब्ल्याक बक्स भनिए पनि यो सुन्तला रंगको हुन्छ । ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । एउटा एफडीआर (फ्लाइट डाटा रेकर्डर) र अर्को सीभीआर (ककपिट भ्वाइस रेकर्डर) । एफडिआरले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने सीभीआरले ककपिटमा पाइलटहरुको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।

तारा एयर ब्ल्याक बक्स

विशेष