News

चुनाव अघि नै नेपाल भ्रमण गर्दैछन् नरेन्द्र मोदी, यस्तो छ भित्री कुरा

चुनाव अघि नै नेपाल भ्रमण गर्दैछन् नरेन्द्र मोदी, यस्तो छ भित्री कुरा

स्थानीय तह निर्वाचनको छेको पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् । भारतीय पत्रिका द हिन्दूले जनाए अनुसार मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउन लागेका हुन। तर, उनको भ्रमण र नेपालमा स्थानीय तह निर्वाचन लगभग एकै समयमा हुने भएको छ।

स्थानीय तहको निर्वाचन नजिकिँदो छ। मतदानको तयारी तिव्र रुपमा चलिरहेको छ। सारमा एकातर्फ पाँच दलिय गठवन्धन छ भने अर्कोतर्फ नेकपा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा जुटेको छ। गठबन्धनले स्थानीय तहमा गरेको तालमेल कार्यान्वयन भए उत्साहजनक परिणाम आउने नेताहरु बताउँछन्।

गठवन्धन राजनीतिले तिव्र दवावमा रहेको एमालेले पनि राप्रपा नेपाल लगायतका साना दलसँग तालमेल गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय गठवन्धनमा आवद्ध दलहरु १/१ किलोका ढक र एमाले क्विन्टलको ढक भन्दै चुनावी परिणाम एमालेकै पक्षमा आउने दावी गरिरहेका छन् ।

चुनावी गतिविधि वढेसँगै देशभर माहौल पनि तातिएको छ। ठिक यसै वेला भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन लागेका हुन। उनी १६ मे ९२ जेठ० भन्दा अगाडि नेपाल भ्रमणमा आउन लागेको जनाईएको छ। 

तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछिको पहिलो नेपाल भ्रमण हो। उनले प्रधानमन्त्री भएपछि सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए । २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए । तर समय अभावका कारण लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ । उनीहरु मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् ।

श्रोतका अनुसार नेपाल र भारतीय अधिकारीहरुले मोदीको भ्रमणको तयारी गरिरहेका छन् । उनी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी ओर्लिने जनाईएको छ ।

नेपाल भ्रमणपछि उनी जापानको भ्रमणमा जाने कार्यतालिका छ । एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । 

नरेन्द्र मोदी

विशेष