News

ओलीको टिप्पणीः ठेकीको विर्को खोल्दा प्रचण्डको अनुहार याद आउँछ

ओलीको टिप्पणीः ठेकीको विर्को खोल्दा प्रचण्डको अनुहार याद आउँछ

स्थानीय तह निर्वाचन नजिकिदै गर्दा आफनो पार्टी विरुद्ध गठवन्धन गरेका दलहरुप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन्। उनले दलका नेता, सरकार र मन्त्रीका विषयमा आक्रामक टिप्पणी गरिरहेका छन् ।

यसैक्रममा उनले एउटा कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री विरोध खतिवडालाई अगस्त्य ऋषीको संज्ञा दिए । २४ लाख डोज कोरोनाको भ्याक्सिन क्याप्सुल निले झै स्वाट्टै निलेको भन्दै उनले आलोचना गरे। ‘२४ लाख। २४ लाख डोज भ्याक्सिन क्याप्सुल निलेझै स्वाट्ट निले’ उनले भने–‘२४ लाख, ट्रकमा अटाउँदैन। त्यती सर्लक्क निले।’

अहिले कमिशनका लागि सरकारले अरवौंको स्वास्थ्य सामग्री खरिद गर्न लागेको ओलीले आरोप लगाए । आफनो सरकारको पालामा आवश्यक ठाउँमा पर्याप्त स्वास्थ्य सामग्री पुर्याएको दवाी गरेका उनले नपुगेका ठाउँमा आउने सरकारले पुर्याउने भन्दै त्यस अगाडि स्वास्थ्यका नाममा चलखेल नगर्न चेतावनी दिए । 

‘अरवौंका औषधी, अरवौका औजारहरु, सिटी स्क्यानका मेसिनहरु, अरु मेसिनहरु, एक्सरे मेसिनहरु। यस्ता मेसिनहरु कुनै अस्पताललाई चाहिएर होईन, कुनै अस्पतालले चलाउने गरी होईन, कुनै डक्टरले चलाउने, कहिँबाट माग भएर होईन’ उनले भने–‘पैसा चाहिएर, कमिसन चाहिएर अहिले यतिवेला चुनावको मुखमा। अहिले अरवौका औषधीका उपकरणहरु खरिद हुँदैछ। केन्द्रबाट। केन्द्रमा स्वास्थ्यमन्त्री को छ, मैले भनिरहनु पर्लाजस्तो लाग्दैन। अगस्त्य जस्तो अनुहार भएका छन्।’

सप्तऋषि मध्येका एक, अगस्त्य ऋषि। जो खन्चुवाका नामले चिनिएका थिए र सागरलाई अञ्जुलीमा राखेर पिएका थिए । ओलीले उनै ऋषिको नाम लिएर भने–‘अगस्त्य भन्ने एउटा ऋषी थिए, जति खाए नपुग्ने, जति पानी खाए नपुग्ने, जति पानी पिए पनि प्यास नमेट्ने। त्यस्तै १४ लाख डोज ह्वाम पार्दा पनि पेट नभर्ने, अरवौ खाँदा पनि पेट नभर्ने त्यस्ता खालका। र यही कुरा प्रदेशतिर हुँदैछ। यही कुरा अरु ठाउँमा हुँदैछ। म सरकारलाई भन्न चाहान्छु, यस्ता खालका कामहरु रोकोस।’

कुन अस्पताललाई एक्सरे मेसिन चाहियो, कसलाई सिटी स्क्यान मेसिन चाहियो ? भन्दै उनले थपे–‘यो त अघिल्लै सरकारले, हामीले नै चाहिने जति राखिसकेका छौं। छैन भने अर्को सरकार वन्न देउन।’ 

देउवा नेतृत्वको सरकार वनेकै खानका लागि भन्दै ओलीले मन्त्री नदिने हो भने त्यहाँ भएकाहरु अहिले एमालेमा प्रवेश गर्ने दावी गरे। ‘यो सरकार जन्मेको किन ? जन्मेको भोलिपल्ट सांसद जती, प्रदेश सभा सदस्य जतिलाई मन्त्री चाहियो तिनीहरुका । मन्त्री नदिने हो भने..., मन्त्रीको सिक्रिले वाँधेर राख्या छ त्यहाँ, मन्त्री नदिने हो भने यो प्रवेश गर्न अघि वहाँहरुले पाउनु हुने थिएन, तिनै आईपुग्थे। तिनै आईपुग्ने, अघि नै वहाहरुले पाउनु नै हुने थिएन। अघि नै आईपुग्ने उनीहरु प्रवेश गर्न।’

मन्त्रीको सिक्रीले वाँधेर राखेकैले उनीहरु त्यहाँ रहेको वताएका उनले त्यो सिक्रीले अव धेरै दिन नथाम्ने दावी गरे । ‘यस्तो सरकार हामी १० जना, ११ जना मन्त्रीले चलाउँथ्यौं भने १८ जना चाहियो। ७ वटा मन्त्रालयले पुग्थ्यो भने १८ वटा, काम गर्न होईन, विकास गर्न होईन। खानलाई।’ ओलीले भने–‘खान जन्मिएकाहरु, मैले त्यही भएर अस्ति एक ठाउँमा वोल्दाखेरी भनेको थिएँ। खान जन्मेकाहरु यीनीहरु। यो अहिलेको सरकार खान जन्मेको हो। यो अहिलेको सरकार देशलाई कंगाल पार्न जन्मेको हो, विकास गर्न होईन। त्यसै कारण यीनीहरु सरकारमा आउने वित्तिकै सात वटा मन्त्रालय १८ वटा चाहिन्छ ?’

आफनो कार्यकालमा सात वटा मन्त्रालयले विकास गरेको दावी गरेका उनले सरकारको समय सिद्दिने वेलामा १८ वटा मन्त्रालय वनाएको भन्दै आलोचना गरे। ‘अहिले नखाए कहिले खाने ? कस्तो सजिलो। अहिले नखाए कहिले खाने ?’ उनले थपे–‘यसरी उनीहरु चै मन्त्री खान कुद्याछन् ।’

१०८ पटक एमाले अध्यक्षको नाम जप्नुपर्छ
पाँच दलिय गठवन्धन एमालेसँग तर्सिएको र डराएको भन्दै उनले आफनो घोषणा पत्रमा समेत एमालेको आलोचना मात्रै लेखेको वताए । कांग्रेसले आफनो घोषणा पत्रमा सभापतिको नाम ८ ठाउँमा लेख्दा एमाले अध्यक्षको नाम ४२ ठाउँमा लेखेको उनले वताए ।

‘कांग्रेसको घोषणा पत्रमा ५ ठाउँ सभापतिको नाम, ४२ ठाउँ एमाले अध्यक्षको नाम। अलि पुगेन । १०८ पल्ट एमाले अध्यक्षको नाम जप्नु पथ्र्यो।’– उनले भने।

राष्ट्रिय लुतो फाल्ने दिन वैशाख ३० गते
ओलीले स्थानीय तह निर्वाचनको मिति वैशाख ३० गतेलाई राष्ट्रिय लुतो फाल्ने दिनको रुपमा ब्याख्या गरेका छन् । वैशाख ३० ले गठवन्धनलाई लुतो जसरी फाल्ने आशय ब्यक्त गरेका उनले भने –‘लुतो फाल्ने दिन पहिले पहिले साउन १ गते हुन्थ्यो, यसपालि वैशाख ३० गते। वैशाख ३० गते राष्ट्रिय लुतो फाल्ने दिन।’ 

माओवादी केन्द्र ठेकी विनाको विर्को
ओलीले माओवादी केन्द्रलाई ठेकी विनाको विर्कोको संज्ञा दिएका छन् । ठेकीको विर्को खोल्दा आफुलाई प्रचण्डको याद आउने गरेको उनले वताए । ‘माओवादी, नाम पनि माओवादी केन्द्र छ। माथि केन्द्र’ हातको इसाराले देखाउँदै उनले भने–‘ठेकी छोईन, ठेकी भित्र केही छैन, कार्यकर्ता यता आईसके, प्रचण्डजीको एउटा सानो गिरोह छ। विर्को मात्रै, माओवादी केन्द्र। मैले यसो ठेकीको विर्को उठाउँदाखेरी प्रचण्डको अनुहार सम्झिएँ।’
 

केपी शर्मा ओली

विशेष