News

बावुराम भट्टराईको दवावले पनि पालुङटारमा थामिएन गठवन्धन

बावुराम भट्टराईको दवावले पनि पालुङटारमा थामिएन गठवन्धन

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बावुराम भट्टराईको तिव्र दबावका विपरित गोरखाको पालुङटारमा नेपाली कांग्रेसले गठवन्धन तोडेको छ। केन्द्रको सहमतिअनुसार जनता समाजवादी पार्टीसँग चुनावी तालमेल हुन नसकेपछि कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको हो।

केन्द्रबाट कांग्रेस र जसपालाई गोरखाका दुई नगरपालिकामा गठबन्धन गर्न आग्रह गरिएको थियो। गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा उम्मेदवारी दर्तापछि पनि गठबन्धनका लागि प्रयास भएका थिए।

पालुङटार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको गृहनगर हो। उनले सत्तागठबन्धन बैठकमा पालुङटारको मेयर जसपाले पाउनुपर्ने अडान राखेका थिए भने कांग्रेससँग चुनावी तालमेल गर्न दबाब दिएका थिए।  मेयरमा जसपाबाट प्रेम गुरूङ उम्मेदवार छन्।

बावुरामको दवावपछि गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले आफनो पार्टीका मेयर उम्मेदवार दीपकबाबु कँडेलको उम्मेदवारी फिर्ता लिएको पत्र निर्वाचन अधिकृत कार्यालयमा पठाएका थिए। तर ढिलो भएको भन्दै निर्वाचन कार्यालयले कँडेलको उम्मेदवारी कायमै राखेको थियो।

जसपाले भने उपमेयर कांग्रेसलाई छाड्ने भन्दै वैशाख १६ मा उम्मेदवारी फिर्ता लिएको थियो। यसबीचमा केन्द्रको निर्देशन मान्न आफू तयार रहेको भन्दै कँडेलले विज्ञप्ति पनि निकाले तर, उम्मेदवारी फिर्ता नलिएको उनले जिकिर गरिरहे। उक्त विज्ञप्तिलाई बावुराम भट्टराईले सामाजिक सञ्जालमा राखेर प्रचार गर्न थालेपछि कँडेलले राजनीक वैमानी गरेको भन्दै भट्टराईलाई आरोप लगाए ।

लामो समयको रस्साकस्सीपछि पनि सहमति तयार नभएपछि आज कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपानेले पालुङटार कांग्रेसलाई पत्राचार गर्दै एकल रूपमा चुनावमा जान निर्देशन दिएका छन्।

कांग्रेससँग तालमेल गर्ने विषयमा छलफल भईरहेकै वेला वैशाख १७ मा जसपाले गोरखा नगरपालिकामा माओवादीसँग चुनावी तालमेल गर्ने सहमति गरेको सुचना वाहिरिएको थियो। जसमा माओवादीका कृष्ण रानालाई मेयर र जसपाका नारायण खत्रीलाई उपमेयर दिने सहमति भएको थियो।

११ पालिका रहेको गोरखामा माओवादी र जसपाले गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा चुनावी तालमेल गरेका छन्। माओवादीसँग गरिएको सहमतिबाट जसपा पछि हट्न नचाहेपछि कांग्रेसले पालुङटारमा पनि मेयर छाड्न नसक्ने बताएको हो। ०७४ को निर्वाचनमा पालुङटार र गोरखा नगरपालिका दुबैमा कांग्रेस उम्मेदवारले मेयर जितेका थिए। 

बावुराम भट्टराई पालुङटार

विशेष