News

भरतपुरमा कांग्रेसीलाई अझै पनि प्रचण्डसँग डर, पाँच वर्ष अघिको धोका अझै ताजा

भरतपुरमा कांग्रेसीलाई अझै पनि प्रचण्डसँग डर, पाँच वर्ष अघिको धोका अझै ताजा

चितवनको भरतपुरमा गठवन्धनको पक्षमा रहेका कांग्रेस नेता/कार्यकर्ता पनि अहिलेसम्म माओवादी र अध्यक्ष पुष्पकमल दाहालसँग विस्वस्त हुन नसेको पाईएको छ। पाँच वर्ष अघि पनि प्रचण्डले गठवन्धनका नाममा धोका दिएको भन्दै कांग्रेसीहरु ससंकित छन् । 

कांग्रेस चितवनका निर्वतमान सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पाँच वर्षअघिको जस्तो धोका नदिन आग्रह गरेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा सोझो भएकाले जे भन्यो त्यही मान्ने गरेको तर दाहालले भने विगतमा धोका दिएको स्मरण गराए। 

भरतपुरमा बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले पाँच वर्ष अगाडि गरेको प्रतिवद्धता दाहालले तीन महिना पनि नटिकाएको भन्दै आलोचना गरे। उनले भने–‘भोलिका दिनमा हिजोको जस्तो ढाँट्ने, धोका दिने काम नहोस् ।’

उनले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता जगन्नाथ पौडेललाई पार्टी निर्णयमा लाग्न पनि आग्रह गरे । श्रेष्ठले रेनु दाहाल नेतृत्वको गठबन्धनको टिमलाई जिताउन नेतृत्वको निर्देशनअनुसार लाग्ने पनि बताए ।

चितवनमा माओवादी अध्यक्ष दाहालकी छोरीलाई मेयरको उम्मेदवारमा कांग्रेसले सहयोग गर्न नसक्ने भन्ने कांग्रेस नेतामध्येका श्रेष्ठ अग्रस्थानमा थिए । उनले विगतमा दाहालको चर्को आलोचना गर्दै आएका थिए । भरतपुरमा गठबन्धनबाट माओवादीकी दाहाल मेयरको उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारी उपमेयरको उम्मेदवार बनेका छन् ।
 

विशेष