News

काम लागेन देउवाको प्रयास, आलम थुनामै

काम लागेन देउवाको प्रयास, आलम थुनामै

०६४ सालमा राजपुरस्थित शेख इद्रिसको गाईगोठमा भएको बमकाण्डका घाईतेलाई ज्यूदै इट्टाभट्टामा पोलेको आरोप लागेका अफताब आलमलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले उनलाई रिहाइ नगर्न आदेश दिएको हो । आलमले साधारण तारेखमा छाड्न माग गर्दै रिट दायर गरेका थिए। सर्वोच्चले रौतहट जिल्ला अदालतको आदेशलाई सदर गरेको हो।

जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुर गएका थिए । तर, उच्चले जिल्ला अदालतको आदेशलाई सदर गरिदिएको थियो । उच्च अदालतको निर्णयविरुद्ध उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतले पनि जिल्ला र उच्च अदालतको आदेशलाई निरन्तरता दिएको हो ।

कांग्रेस सांसदसमेत रहेका उनीमाथि रौतहटको राजपुर बमकाण्ड गराएको आरोप छ । २०६४ सालको चुनाव अगाडि २७ चैत ०६४ को साँझ उनले प्रमाण नष्ट गर्न बमकाण्डका घाइते र मृतकलाई इटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए । आलमलाई थुना मुक्त गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाले प्रयास पनि गरेका थिए । २९ असार, २०७८ मा पाँचौ पटक प्रधानमन्त्री नियुक्त भएपछि उनले कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणि पोखरेललाई आलमसँग भेट्न पठाएको थिए । कारागार स्रोतका अनुसार महानिर्देशक पोखरेलले एक सहयोगीका साथ विशेष कक्षमा बोलाएर आलमसँग कुराकानी गरे।

श्रोतका अनुसार पोखरेल प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण मार्फत पठाएको निर्देशनपछि आलमलाई भेट्न नख्खु पुगेका थिए । देउवा प्रधानमन्त्री भएसँगै आलमका समर्थकले रौतहट राजपुरस्थित गाउँमा घटनाका साक्षी धम्काउन थालेका थिए । उनका समर्थकले राजपुर–४ का मेवालाल यादव र रामबहादुर साहलाई घरमै पुगेर ज्यान मार्ने धम्की दिए। यादव र साह राजपुरस्थित शेख इद्रिसको गाईगोठमा भएको बम विस्फोटका साक्षी हुन् ।

प्रधानमन्त्रीमा देउवा नियुक्त भएसँगै राजपुरमा समर्थकले आलम कैदमुक्त हुने भन्दै दीपावली गरेका थिए भने खुसियालीमा पटाका र बन्दुक पड्काएका थिए । 

यो पनि,
पहिलो वलमै देउवाको ‘चौका’, आलमलाई छुटाएर ‘छक्का’ हान्ने तयारी

अफताब आलम

विशेष