News

मेयरको धक्कु लगाएर उपमेयर लडेकी डंगोलको उम्मेदवारी धरापमा

मेयरको धक्कु लगाएर उपमेयर लडेकी डंगोलको उम्मेदवारी धरापमा

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरमा उम्मेदवार बनेकी सुनिता डंगोलको उम्मेदवारी नै धरापमा परेको छ। 

नेपाल टेलिभिजनमा ‘चिल्ड्रेन क्लब’ कार्यक्रम सञ्चालन गर्दै आएकी डंगोलले त्यहाँ राजिनामा नदिई उम्मेदवारी दर्ता गराएको पाईएपछि उनको उम्मेदवारीलाई लिएर प्रश्न उठेको छ। उनले उम्मेदवारी दिएको दुई सता पुग्न लाग्दा पनि टेलिभिजनमा राजिनामा स्विकृत नगराएको जनाईएको छ।

स्थानीय निर्वाचन ऐन २०७३ अनुसार नेपाल सरकारबाट अनुदानप्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको अवस्थामा स्थानीय निर्वाचनका लागि उम्मेदवार हुन अयोग्य रहने उल्लेख छ। ऐनको दफा १३ को (ग) मा नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवारका लागि अयोग्य हुने उल्लेख गरिएको छ।

डंगोल निमार्ता/प्रस्तोता रहेको उक्त कार्यक्रम वैशाख १० गतेपनि प्रशारणमा आएपछि उनले राजिनामा नदिई उम्मेदवारी दर्ता गराएको खुलेको हो। उनले ‘ब्याकडेट’को राजिनामा यतिवेला नेपाल टेलिभिजनलाई पठाएको श्रोतको दावी छ। ०७८ चैत २० गतेको मिति राखेर वैशाख २१ गते टेलिभिजनमा राजीनामा पठाईएको जनाईएको छ। राजिनामा पत्रमा ०७९ वैशाख १० गतेदेखि लागु हुने गरी पदबाट राजीनामा दिएको उल्लेख छ।

डंगोलले वैशाख १२ गते काठमाडौं महानगरका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएकी थिइन्। उम्मेदवारी दर्ता गर्नुअघि कुनै पनि सरकारी निकायबाट पारिश्रमिक पाउने गरी कार्यरत नभएको सुनिश्चित गराउनुपर्ने प्रावधान रहेको निर्वाचन आयोगका एक अधिकारी बताउँछन् ।

ऐनले अयोग्य भनेको व्यक्तिले उम्मेदवारी दर्ता गराएको पाईए कानुनी कारबाहीको भागेदार हुने उनी वताउँछन् । उजुरी परेको अवस्थामा आयोगले छानबिन गर्ने र दोषी पाइएको अवस्थामा निजको उम्मेदवारी नै खारेज हुनसक्ने ती अधिकारीले बताए।

यस विषयमा नेपाल टेलिभिजनकी निमित्त नायब महाप्रबन्धक आरती चटौतले राजीनामा स्वीकृत भए÷नभएको विषयमा अनभिज्ञता प्रकट गरिन्।
 

सुनिता डंगोल

विशेष