News

छोरी-वुहारीका लागि राजनीति गर्ने प्रचण्डलाई पाखा लगाउन रेखाको सुझाव

छोरी-वुहारीका लागि राजनीति गर्ने प्रचण्डलाई पाखा लगाउन रेखाको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले परिवारका लागि मात्रै राजनीति गर्ने पुष्पकमल दाहाललाई पाखा लगाउन नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई सुझाव दिएकी छिन् ।

पोखरामा शनिबार राप्रपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन। उनले यस्ता नेतालाई पाखा लगाउन जनता जागरुक हुनुपर्ने पनि बताइन् । 

‘माओवादीका नेताले मेरी छोरीले जितिन भने देशमा संकट आउँछ भन्नुभयो । उहाँको छोरी मात्रै छोरी, यो देशका लाखौं दिदीबहिनी र छोरीहरु छोरी होइनन् ? छोरी–बुहारीले मात्र राजनीति गर्ने हो भने अब नेपाली जनता जाग्नेबेला आएको छ’ प्रचण्डको नाम नलिईकन उनले भनिन्,–‘त्यस्ता राजनीति गर्नेलाई नेपाली जनताले पाखा लगाउनुपर्छ ।’ 

दाहालले २२ वैशाखमा चितवनमा आयोजित सभामा बोल्दा भरतपुरमा रेणुलाई हराए देश दुर्घटनामा जाने चेतावनी दिएका थिए । उनले चेतावनी दिदा छोरीको नाम नलिई हँसिया हठौडा भनेपनि आसय चाही रेणु नजिते देश दुर्घटनामा जान्छ भन्ने नै थियो। उनले गठबन्धनलाई अस्वीकार गरेर गठबन्धनका उम्मेदवार हराए देश दुर्घटनामा जाने बताएका थिए ।

भरतपुरमा प्रचण्ड पुत्री रेनुु दाहाल गठबन्धनबाट मेयर उम्मेदवार छिन् । यसैगरी, नेतृ थापाले कांग्रेसले चुनाव नजितेको ठाउँमा बजेट नदिने प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणाको अभिव्यक्तिलाई दादागिरी भनेर टिप्पणी गरिन् । ‘मेरो पार्टीले चुनाव जितेन भने बजेट पठाउँदैनौँ भन्नुभयो । मेरो पार्टीले जितेन भने बजेट पठाउँदैनौँ भन्नु कतिसम्मको दादागिरी हो ? कतिसम्मको धम्की हो ?’, उनले थपिन्,  ‘एमाले, कांग्रेस र माओवादी पार्टीका साथीहरुलाई प्रश्न गर्छु – तपाईंका नेताले तपाईंले बोकेको विचारको झोला बेचेर खाइसक्दा पनि तिनै नेताको पछाडि किन दौडनुहुन्छ ?’
 

रेखा थापा

विशेष