News

द्वन्द्वकालमा भाटा हान्ने र भाटा खाने एउटै टिमबाट मेयर–उपमेयरका उम्मेदवार

द्वन्द्वकालमा भाटा हान्ने र भाटा खाने एउटै टिमबाट मेयर–उपमेयरका उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि थरीथरीका उम्मेदवारी परेका छन् । झापामा भने माओवादी द्वन्द्वकालमा भाटे कारवाहीमा परेका र भाटा हान्ने दुवै जनाको उम्मेदवारी एकै टिमबाट मेयर र उपमेयरमा परेको छ। 

झापाको मेचीनगर नगरपालिकामा नेपाली कांग्रेसका इन्द्र बुढाथोकी मेयरका उम्मेदवार छन् । उपमेयरमा नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारी । सत्ताधारी पाँच दलीय गठबन्धनबाट उनीहरु मेयर र उपमेयर उम्मेदवार वनेका हुन। बुढाथोकी कांग्रेसको झापा क्षेत्र नम्बर १ का सभापति हुन् भने भण्डारी माओवादीका जिल्ला इन्चार्ज ।

कांग्रेसका मेयर उम्मेदवार वुढाथोकीलाई माओवादीका भण्डारीको नेतृत्वमा ०५८ सालमा भाटे कारबाही गरिएको थियो । धुलाबारी–१० निवासी बुढाथोकीलाई भण्डारी नेतृत्वको माओवादी जनमुक्ति सेनाले उनको घरमै गएर कुटेको थियो।

स्त्रीलम्पट तथा सुराकीको आरोप लगाएर वुढाथोकी कुटिएपछि कांग्रेस र माओवादीको सम्वन्ध विग्रियो। हतियार बिसाएपछि समेत धुलाबारीमा कांग्रेस र माओवादीका कार्यकर्ताबीच पटक–पकट झडप हुने गरेको थियो  

तर, राजनीतिक स्वार्थले अहिले उनीहरु एकै ठाउँमा छन्। भाटा खाने बुढाथोकी र भाटे कारबाही गर्ने भण्डारी अहिले सँगै भोट माग्न जनताको घरदैलोमा पुग्छन् । बुढाथोकी आफूलाई द्वन्द्वपीडित भन्छन्। तर, पीडक भनिएकासँगै काँध मिलाएर हिडेका छन् ।

व्यक्तिगत रूपमा भण्डारीले आफूसँग माफी मागिसकेकाले द्वन्द्वकालीन कुरा कोट्याउन नहुने उनको तर्क छ। भण्डारी भने परिस्थितिअनुसार जनकारबाही भएपनि अहिले परिस्थिती फरक भएको वताए ।


मेचीनगर नगरपालिकाका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मामा गृहनगर हो।

विशेष