News

टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका पौडेलको हत्या की आत्महत्या ?

टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका पौडेलको हत्या की आत्महत्या ?

सुनसरीको रामधुनी नगरपालिकाका एक जना वडाध्यक्ष उम्मेदवार मृत फेला परेका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि रामधुनी नगरपालिका– ८ मा बागी वनेर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेलको शव आफ्नै घर पछाडिको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । रामधुनीको डुम्रास्थित पौडोल चोकमा परिवारसहित बस्दै आएका पौडेल कांग्रेसका क्रियाशील सदस्य हुन।

उनले ०७४ मै वडाध्यक्षको टिकटका लागि प्रयास गरेका थिए । यसपटक पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारको प्यानलेै बनाएर बागी उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दिएपछि चारदिनदेखि वेपत्ता रहेका पौडेलको शव शनिबार बिहान फेला परेको हो ।

मोबाइल फोन घरमा र मोटरसाइकल इनरुवामा छाडेर उनी चार दिनअघि घरबाट सम्पर्क विहिन भएका थिए । वेपत्ता भएपछि परिवारले दिएको उजुरीको आधारमा प्रहरीले व्यापक खोजी गरेको थियो । तर उनी त्यसको भोलिपल्ट सम्पर्कमा आएका थिए ।

सम्पर्कमा आएका पौडेलले आफू साथीको घरमा बसेको बताएका थिए । उनको शवसँगै प्रहरीले सुसाइड नोट पनि बरामद गरेको सुनसरीका सिडियो इन्द्रदेव यादवले बताए । सुसाइड नोटमा ‘यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू । डीएसपी एन कार्की एकदमै राम्रो मान्छे यति बुझदिनू । पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु । घरपरिवारलाई ठीकसँग राख्नू । कसैले पिर नगर्नू । समय कम छ । यतिनै लेखे । अस्तु ।’– उनले सुसाईड नोटमा लेखेका छन् ।

मितिसहितको हस्ताक्षर गरेको सुसाइड नोट उनैले लेखेको हो वा होईन? अरुले नै दवाव दिएर लेखिएको होकी भन्ने विषयमा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ। पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि उनीमाथि दवाव परेको थियो। कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

विशेष