News

ओली भन्छन्– प्रचण्ड/माधवलाई प्रधानमन्त्री बनाउने आश्वासन मेरो होईन

ओली भन्छन्– प्रचण्ड/माधवलाई प्रधानमन्त्री बनाउने आश्वासन मेरो होईन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुलाई प्रधानमन्त्री बन्न अफर आएको तर त्यस्तो भुलभुलैयामा नपर्ने भन्दै हिड्न थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेका छन् ।

दाहाल र नेपालले सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ताहरूमा प्रधानमन्त्री बनाउन आएको त्यो प्रस्ताव कसले गरेको हो भन्नेबारे खुलाएका छैनन्। तर, संसदीय गणितका हिसाबले एमाले बाहेकको शक्तिले उनीलाई प्रधानमन्त्री बनाउन नसक्ने भएका कारण एमालेबाटै त्यो प्रस्ताव गएको हुनसक्ने अनुमान गर्ने गरिएको छ।

तर, ओलीले भने आफुले कुनै पार्टीका नेतालाई प्रधानमन्त्री  बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताएका छन् । उनले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट संख्याका हिसाबले केही कम आएर दोस्रो भएपनि लोकप्रिय मतका हिसाबले एमाले पहिलो भएको जिकिर गरे ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे ।

नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा एमालेलाई अधिक स्थानमा विजयी गराउने जिकिर ओलीको छ। अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने पनि बताए। मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरू वामपन्थी नभएको आरोप लगाए ।
 

विशेष