News

सांसद अधिकारीले किन भने सत्ता पक्षका सांसदलाई ‘नुन खाएका कुखुरा’ ?

सांसद अधिकारीले किन भने सत्ता पक्षका सांसदलाई ‘नुन खाएका कुखुरा’ ?

नेकपा एमालेका सांसद खगराज अधिकारीले सत्ता पक्षका सांसदहरुलाई ‘नुन खाएको कुखुरा’ को संज्ञा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाली दुतावासमा देखिएको नेपालको नक्सा प्रकरणमा उनले सत्ताधारी दलका सांसदहरुलाई यस्तो भनेका हुन। 

प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा बोल्दै सांसद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली राजदूतावासमा ‘बुच्चे नक्सा’ टाँसेर आएको दाबी गरेका छन्। 

‘प्रधानमन्त्रीज्यू भारत जाँदा नेपालको राजदूतावासमा बुच्चेनक्सा टाँसेर उहाँ आउनुभएको छ। यसको जवाफ सत्ता पक्षका माननीयज्यूहरुले दिन सक्नुहुन्छ?’ उनले भने–‘सक्नुहुन्न भने तपाईँ नुन खाएको कुखुरा जस्तै हो कि होइन?’

देउवा भारत गएका बेला दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नसमेटिएको नक्सा देखिएपछि त्यसको चर्को विरोध भएको थियो। त्यसपछि दूतावासले त्यो नक्सा हटाएर चुच्चे नक्सा टाँसेको थियो।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको विषयमा पनि सरकारसँग सरकारसँग माग गरेका छन् । २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन उनले माग गरे।

‘२४ लाख खोप कहाँ गयो ? हामीले उठाई राखेका छौं । समितिमा उठाएका छौं । सम्माननीय प्रधानमन्त्रीज्यूकोमा गएर भनिएको छ । त्यो २४ लाख खोप कम्पनीबाटै कमिशनमा हराएको हो ? सभामुख महोदय । त्यसको जवाफ चाहिँदैन’ उनले भने–‘निःशुल्क औषधिको कुरा चल्यो । म स्वास्थ्यमन्त्री हुँदा नै ७२ वटा त नयाँ औषधि निःशुल्क बनाएको हो । १ सय ३९ वटा औषधि त त्यतिबेलै निःशुल्क गरिएको थियो एचआईभी एड्सदेखि क्यान्सरसम्मका । अनि अहिले यहाँ केके गरे भनेर भ्रमको खेती गरिदैछ । यसको जवाफ चाहिएन सभामुख महोदय । गत आर्थिक वर्षको भन्दा २२ प्रतिशत बढि बजेट कम गरिएको छ । त्यसप्रति मेरो आपत्ति छ ।’

आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १३९ वटा औंषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै उनले त्यसबारे अरु थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिए ।
 

खगराज अधिकारी

विशेष