News

उपेन्द्रलाई लगामः मन्त्री हेरफेरमा एकल हस्ताक्षर अस्विकार गर्न प्रमलाई आग्रह

उपेन्द्रलाई लगामः मन्त्री हेरफेरमा एकल हस्ताक्षर अस्विकार गर्न प्रमलाई आग्रह

जनता समाजवादी पार्टी (जसपा) मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव बीचको विवाद उत्कर्षमा पुगेको छ। पछिल्लो पटक स्थानीय तहको निर्वाचनको विषयलाई लिएर सुरु भएको विवाद मन्त्री परिषद पुनर्गठनसम्म पुगेको छ।

अध्यक्ष यादवले टिकट बाँड्दा संस्थागत निर्णय नगरेको, सत्ता गठबन्धनसँगको निर्णयका विषयमा पार्टीमा परामर्श नगरेको, अर्को अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्न अनिच्छा देखाएको लगायतका आरोप भट्टराई पक्षले लगाएको छ। निर्वाचनको समीक्षा गर्नुपर्नेमा अध्यक्ष यादवले केन्द्रीय समिति बैठक नै नबोलाएको आरोप पनि छ।

यसैविच, मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएपछि पुनः यादवले एकल हस्ताक्षर पठाएर मन्त्री नियुक्तिमा आफुखुसी गर्ने सम्भावना वढेपछि भट्टराई समूह बालुवाटार पुगेको छ। भट्टराई पक्षले सोमवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी महत्वपुर्ण निर्णयमा तीनजनाको हस्ताक्षर हुने पार्टीको यसअघिको निर्णय स्मरण गराए। यादवले एकल हस्ताक्षर पठाउन सक्ने भन्दै सरकार निर्माणको समयमा ध्यान दिन देउवालाई आग्रह गरे।

भट्टराईलगायत नेताले पार्टीमा आफु पक्षको वहुमत रहेकाले पनि अध्यक्ष यादवको एकल निर्णय अस्वीकार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संसदमा वजेट माथि छलफल चलिरहेकै वेला नेकपा एकिकृत समाजवादीले आफना मन्त्री फिर्ता वोलाउने निर्णय गरेपछि अन्य पार्टीमा पनि मन्त्री हेरफेर गर्न दवाव छ।

माओवादी, कांग्रेस, जसपासहित गठवन्धनका सवै दलमा यो विषय वहस भईरहेको छ। जसपामा भने अध्यक्ष यादवले कृषि तथा सहकारीमन्त्री महेन्द्रराय यादवलाई मात्र सरकारबाट फिर्ता बोलाएर अन्यलाई यथावत राख्न चाहेका छन् । बाबुराम पक्ष भने आन्तरिक सहमति अनुसार ६ महिनापछि मन्त्रिपरिषद्को पुरै ‘सेट’ परिवर्तन गरेर नयाँ अनुहारलाई राख्नुपर्ने बताउँदै आएको छ।
 

जसपा

विशेष