News

विशाल भट्टराईले मिनेन्द्रलाई भने– सरकार कस्तो हुन्छ देखाई दिनोस न !

विशाल भट्टराईले मिनेन्द्रलाई भने– सरकार कस्तो हुन्छ देखाई दिनोस न !

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले करिव एक वर्षअघि प्रतिनिधि सभामा बोलेको विषयलाई लिएर उनको व्यंग्य गरेका छन् ।

२९ असारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि विश्वासको मतबारेको छलफलमा बोल्दै रिजालले भनेका ‘सरकार कस्तो हुन्छ अब देखाउँछौँ’ भनेका विषयमा भट्टराईले उनलाई ब्यंग्य गरेका हुन।

सोमबार संसद बैठकमा बोल्दै भट्टराईले ‘सरकार कस्तो हुन्छ देखाइदिन्छौँ’ भन्नेको संसदमा अनुहार पनि नदेखिएको भन्दै व्यंग्य गरे। जनताले सरकार भएको अनुभव पनि गर्न नपाएको भट्टराईले बताए । 

‘सरकार भनेको जनतालाई मर्का परेको बेला र राहत दिन चाहिने हो । सरकार कस्तो हुन्छ भन्नेले सरकार देखाइदिए हुन्थ्यो’ उनले भने–‘उहाँको त अनुहार पनि देखिएन । आफ्नो कुरा राख्नेबेला मात्रै उहाँ झुल्किनुहुन्छ । अरु बेला देखिनुहुँदैन।’

भट्टराईले रासायनिक मलको अभाव भएको बारेमा छलफल गर्न माग गर्दै आजै ‘स्थगनको प्रस्ताव’ दर्ता गराएका थिए । संसद्मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न भन्दै उनीसहित १५ सांसदले उक्त प्रस्ताव दर्ता गरेका हुन।

सांसदहरुले पेश गरेको प्रस्तावमाथि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले २ घण्टाको समय छुट्याएका छन्। 

विशेष