News

२० वर्षपछि मात्रै बिहे गर्न पाइने व्यवस्थाले अपराध बढायो!

२० वर्षपछि मात्रै बिहे गर्न पाइने व्यवस्थाले अपराध बढायो!

नेकपा एमालेकी सांशद गंगा चौधरीले केही दिन अघि प्रतिनिधि सभाको रोस्टममा उभिएर विवाह गर्ने उमेर घटाउन माग गरिन्। अहिले महिला १२–१३ वर्षमै परिपक्व भईसक्ने भएकाले विवाह गर्ने उमेर हद २० वर्षलाई घटाउनुपर्ने उनको भनाई थियो।

नेपालको कानुनले महिला/पुरुषको बिवाह गर्ने उमेर २० वर्ष तोकेको छ। मुलुकी फौजदारी (संहिता) ऐन २०७४ ले महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ।

साथै तोकिएको उमेर नपुगी विवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिबानाको सजाय तोकिएको छ। तर, सांसद चौधरीले नेपाली समाजमा त्यति उमेरै नपुगी बिहे गर्ने चलन रहेको भन्दै पुनर्मुल्यांकन गर्न आग्रह गरेपछि उनको आलोचना भयो।

हुन त विवाह गर्ने उमेर घटाउनु पर्ने माग उनको मात्र होईन। खास गरी तराई/मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले विषेश जोडदिएर यो विषयलाई उठाउँदै आएका छन् । तर, सामाजिक सञ्जालमा गाली खानेमा सांसद चौधरी अगाडि परिन।

विवाहको उमेर घटनाउन प्रस्ताव गरिरहेका सांसदहरुले ‘समाजले कानुन बनाउने हो। कानुनले समाज बनाउने होइन’ भन्दै मुलुकको आर्थिक, सामाजिक परिवेशलाई समेटेर ऐन वनाउनु पर्ने वताउँदै आएका छन् ।

‘बिहेवारि बीस वर्ष पारी’ भन्ने कानुन सहर र सम्भ्रान्त समूह केन्द्रित भएको उनीहरुको भनाई छ। सहरका महिला, पुरुषमा पढाइ सकेर वा करियर बनाएर मात्र विवाह गर्ने विचार स्थापित भए पनि ग्रामीण भेग तथा मधेसमा माध्यमिक तह पुग्दा नपुग्दै पढाई छोड्ने र त्यसपछिको पहिलो विकल्प विदेश या विवाह भएको जानकारहरु वताउँछन् ।

तर कानुनका कारण सामाजिक चालचलनमा बन्देज लागेको छ। मतिपय सांसदहरुले त मधेसमा २० वर्षभन्दा कम उमेर समूहकाहरूको विवाह यथावत् रहेको बताउँदै कानुनी जटिलताले उनीहरुबाट जन्मिने बालबालिकाको जन्म दर्ता समेत प्रभावित हुने गरेको वताएका छन् । ‘विवाह त हुन्छ। तर, नत विवाह दर्ता हुन्छ, नत बालवच्चाको जन्मदर्ता।’ उनीहरु भन्छन्–‘सामाजिक संरचनालाई विथोल्ने यो कानुन परिमार्जन गर्नु आवश्यक छ।’

सांसदहरुले यसरी कुरा उठाउन थालेपछि सरकारले यसको सम्बोधन गर्ने भएको छ। कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बुधवारको ब्यवस्थापिका संसदको वैठकमा वोल्दै नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताए। मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए ।

२० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको भन्दै उनले ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन’ भने।

यो ब्यवस्थाले बरु अपराध बढाएको भन्दै उनले कानुन मन्त्रालयले रिभ्युको प्रोसेस थालिसकेको जानकारी गराए । 
 

विवाह २० वर्ष

विशेष