News

एमाले सांसद सत्गौवा र मन्त्री झाँक्रीको यस्तो आरोप–प्रत्यारोप

एमाले सांसद सत्गौवा र मन्त्री झाँक्रीको यस्तो आरोप–प्रत्यारोप

कालोसूचीमा परेका कम्पनीलाई योजना दिन करोडौंको हेराफेरी गरेको आरोप लागेपछि सहरी विकास मन्त्री रामकुमार झाँक्रीले त्यसको कडा प्रतिवाद गरेकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रीलाई प्रष्टीकरण सोध्ने क्रममा एमाले सांसदले पैसा खाएको आरोप लगाएपछि उनले त्यसको जवाफ दिएकी हुन। 

एमाले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री झाँक्रीले प्रमाण भए कारबाही गर्ने निकायमा जान चुनौती दिदै आरोपमा लागि मात्रै आरोप लगाएको हो भने त्यसो नगर्न चेतावनी दिईन। ‘सुनेका भरमा होइन, तथ्य, प्रमाण र दाबीसहितका कुराहरू लिएर आउनुस’ उनले भनिन्–‘सम्मानित सदनमा आरोप राख्नु पहिला दाबी प्रमाणित गर्नेगरी आफ्ना कुरा ल्याउनुस्।’

उनले योजना छनौटमा यस अघिका मन्त्रीले रकम कलमको हिसाव गर्ने गरेको भए आफुलाई जानकारी नभएको तर आफनो पालामा त्यस्तो नभएको उनले दावी गरिन। ‘योजना छनोट गर्दा रकम कलममा भएको थियो कि भन्ने कुरा आए । हिजोअस्ति उहाँहरूले त्यस्तो गर्नुभएको थियो भने पनि आज त्यस्तो भएको छैन भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु’ उनले थपिन्–‘तर, आरोपका लागि आरोप लगाउनुभएको छ भने यो सम्मानित सदनबाट चुनौती खडा गर्न चाहन्छु, चुनौती दिन चाहन्छु । सप्रमाण कारबाही गर्ने तहसम्म आउनुस्।’

मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा एमाले सांसद गंगा चौधरी सत्गौवाले ‘ईआरएमसी वा उक्त कम्पनीसँग जोडिएका फर्मले मात्रै सहरी विकास मन्त्रालयका योजना किन पाउँछन ?’ भन्दै प्रश्न खडा गरेकी थिईन।

पैसा खाएर कालोसूचीमा परेको कम्पनीलाई योजना दिएको भन्दै उनले मन्त्री झाँक्रीमाथि आरोप लगाईन। ८ महिनामा मन्त्रालय मातहतका विभागका डीजी ३ पटक फेरिएको र आयोजना प्रमुख फेर्ने क्रममा रकम लिएको उनको आरोप थियो । उनको कुरालाई समर्थन गर्दै एमालेकै सांसद विमला विश्वकर्माले पनि झाँक्रीमाथि भ्रष्टाचारको आरोप लगाएकी थिईन।
 

रामकुमार झाँक्री गंगा चौधरी सत्गौवा

विशेष