News

गुण्डा नाईके भेट्न डिएसपी नै कारागार पुगेपछि प्रहरीमा हलचल

गुण्डा नाईके भेट्न डिएसपी नै कारागार पुगेपछि प्रहरीमा हलचल

गुण्डा नाईके समिरमान सिंह वस्न्यातसँग उठवस देखिएपछि प्रहरी वृत्त, स्वयम्भुका डीएसपी मिलन केसीलाई त्यहाँको जिम्मेवारीबाट हटाईएको छ। उनी उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएका छन् ।

एसपीमा वढुवाका लागि दौडधुप गरिरहेका वेला गत आइतबार डीएसपी केसी अमृत केसी नामका व्यक्तिसँग समिरलाई भेट्न केन्द्रीय कारागार पुगेको जनाईएको छ। अमृत पनि अपराधिक पृष्ठभूमिका व्यक्ति हुन्।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले झिकाएको सीसी क्यामरा फुटेजमा पनि उनी कारागारमा देखिएका छन् । तर डीएसपी केसी किन कारागार गए र समिरलाई भेटेकी भेटेनन भन्ने खुलिसकेको छैन ।

केसी निकट स्रोतले भने उनको बस्न्यातसँग भेट नभएको दाबी गरेको छ । कारागारका डीएसपी नविन प्रधान ब्याची भएकाले उनलाई भेट्न म प्रहरी वृत्त जनसेवाका डीएसपी शालिकराम शर्मासहित त्यहाँ पुगेको हो भन्दै केसीले वताएको स्रोतले जनाएको छ।

केसीका विषयमा छानविन गर्न एसपी दिनेशराज मैनालीको नेतृत्वमा डीएसपी हरि बस्नेत र एकजना प्रहरी सहायक निरीक्षक (असई) सदस्य रहेको समिति बनाइएको छ ।

बस्न्यात निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको २३ असोज २०७४ मा गोली प्रहार गरी हत्या गरिएको घटनाका मुख्य योजनाकार हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई भारतको गोवाबाट पक्राउ गरेर नेपाल ल्याएर १७ मंसिर २०७४ मा सार्वजनिक गरेको थियो ।

कारागार प्रशासनका अनुसार अमृतले बस्न्यातसँग भेट गराइदिन आग्रह गरेका थिए । केन्द्रीय कारागारका जेलर डोरेन्द्र निरौला काठमाडौं वडा नं. ११ प्रहरी वृत्त, स्वयम्भुको कार्यक्षेत्र पर्ने भएकाले त्यहाँका डीएसपी कारागारमा अन्य बेला पनि आइराख्ने बताउँछन् ।

विशेष