News

धनगढीमा नक्कली नोट छाप्ने मामा र कारोवार गर्ने भान्जा पक्राउ

धनगढीमा नक्कली नोट छाप्ने मामा र कारोवार गर्ने भान्जा पक्राउ

नक्कली नोटको कारोवार गरेको आरोपमा प्रहरीले धनगढीबाट मामाभान्जालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा बि युनिक फोटो स्टुडियो संचालन गर्दै आएका २१ वर्षीय रामदास राना र भानिज नाता पर्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट नक्कली नेपाली नोटसमेत बरामद भएको छ।

प्रहरीका अनुसार भान्जा पर्ने किशोरले चलाएको मोटरसाईकलले धनगढी उपमहानगरपालिका–३ स्थित सडकमा एक जना साइकल यात्रीलाई ठक्कर दिएको थियो। मोटरसाईकलको ठक्करबाट घाईते भएका साईकल यात्रीको उपचारमा लागेको खर्च तिर्ने क्रममा उनको साथबाट एक थान नक्कली नोट फेला परेको थियो।

वडा प्रहरी कार्यालय धनगढीले उनलाई सोही आरोपमा पक्राउ गरी सोधपुछ गर्ने क्रममा मामा नाता पर्ने रामदास रानाले नक्कली नोट छाप्ने गरेको बताएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।

रानाको फोटो स्टुडियोमा खानतलासी गर्दा १ हजार दरका २ थान नक्कली नोट, ५ थान रंगिन मसीका डिब्बाहरू, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, १ थान सिपियू, १ थान लेमिनेसन मेसिन र १ थान किबोर्डसमेत बरामद भएको प्रहरीले बरामद गरेको छ।
 

नक्कली नोट

विशेष