एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने गैरजिम्मेवार प्रचण्डले क्षमा माग्नुपर्छ
![एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने गैरजिम्मेवार प्रचण्डले क्षमा माग्नुपर्छ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/pokhrel-c832b.jpg)
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहलले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्वन्धि दिएको अभिब्यक्तिको प्रतिवाद गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर बोलेका पोखरेलले दाहालले सफेद झुठ बोलेको बताए । ओली सरकारका उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखरेलले गठबन्धनको नेताहरु झुटो बोल्न थालेको बताए ।
बिहीबार एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको दाबी गरेका थिए । त्यसतर्फ संकेत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘म केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री थिएँ । यस विषयमा कुनै सकारात्मक कुरा, लिखत, वक्तव्यहरु माइन्युट छन् भने यो संसदसमक्ष प्रस्तुत गरियोस् । त्यसको पूर्ण जवाफदेही लिन हामी तयार छौं ।’
उनले अगाडि भने, ‘हिम्मत छ भने केपी ओलीको पालामा भएको हो भनेर प्रस्तुत गर्नुस् । होइन भने उहाँले गैरजिम्मेवार ढंगले बोलेकोमा क्षमा माग्नुपर्छ ।’
स्टेट पार्टनरसीप प्रोग्रामका लागि अमेरिकाले प्रस्ताव गरेको बेला नेपालले २०१५ र २०१७ मा पोजेटिभ रेस्पोन्स गरेर पठाएको पनि उनले वताए । ‘२०१५ मा कसको नेतृत्वमा सरकार थियो ? प्रधानमन्त्री को थिए ? रक्षामन्त्री को थिए ? प्रधानमन्त्री र रक्षामन्त्री हुने पार्टीले यसको बारेमा के भन्छ ?’ उनले भने–‘२०१७ मा जसले एसपीपीलाई सकारात्मक ढंगले पठायो, त्यसबेला मुलुकलाई नेतृत्व गर्ने प्रधानमन्त्री को थियो ? गठबन्धनका नेताहरुले आज गलत ढंगले झुट बोलिरहनु भएको छ । उल्टो एमालेप्रति आक्षेप लगाउने काम गर्नु भएको छ ।’
२०१५ मा सुशील कोइराला र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । त्यसबेला सकारात्मक जवाफ पठाउनेहरु नै अहिले गलत बोलिरहेको भन्दै उनले भने, ‘एमालेप्रति संकेत गर्दै जुन आक्षेप लगाउनु भएको छ । त्यसको भत्सर्ना गर्न चाहन्छु ।’
इण्डो प्यासिफिक स्ट्राटेजीको अंग बनाउने कुरा उठेपछि तत्कालीन परराष्ट्र सचिवकै नेतृत्वमा कार्यदल बनाएको उनले सुनाए । कार्यदलले एसपीपीको नाममा अगाडि बढाउनु उचित हुँदैन भनेको तथ्य हुँदाहुँदै लाज पचाएर गलत ढंगले यो कुरा उछालिएको उनले आरोप लगाए ।
कांग्रेस नेतृत्वका सरकारहरूले सकारात्मक प्रतिक्रिया अमेरिकालाई दिएको तर अहिले विवादमा आएपछि एमालेको टाउकोमा हाल्ने प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाए।
एसपीपीको विषय सार्वजनिक भएपछि त्यसलाई सुरुमा थाहा नपाएको जस्तो गरिएको र पछि लुकाउने प्रयास भएको पोखरेलको भनाइ थियो । ‘पोल खुल्दै गएपछि एमालेको टाउकोमा आरोप लगाउने प्रयास भयो,’ उनले भने ।