News राजनीति

ओलीले मुख खोलेः एमसीसी पास गरेपछि हौसिएर अमेरिकी सेना नै राख्ने ड्राफ्ट बनाईयो

ओलीले मुख खोलेः एमसीसी पास गरेपछि हौसिएर अमेरिकी सेना नै राख्ने ड्राफ्ट बनाईयो

आफु प्रधानमन्त्री हुँदा नेपाली सेनाले एसपीपीमा सहभागि हुँन पाउँ भन्दै लेखेको पत्र सार्वजनिक भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेका छन् । २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको उनले दाबी गरेका छन् ।

ओलीले ६ असोज २०७२ (सन् २०१५) मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वाटरमा पठाएको बताए । ‘हामी कतै पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भए, २५ गते सपथ लिए । तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन्’– उनले भने।

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले भने ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’

आफ्नो सरकार आएपछि इण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको ओलीले बताए । वरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको पाइएको उनले सुनाए ।

अहिले एमसीसी पास गरेपछि गठबन्धन हौसिएर अमेरिकी सेना नेपालमा राख्ने गरी ड्राफ्ट बनाएको ओलीको दाबी छ । ‘अहिले आएर अमेरिकी सेना नेपालमा राख्ने, साना खालका एयर क्राफ्ट र अरु संरचना राख्ने एउटा अन्तिम ड्राफ्ट आएको छ’ ओलीले भने–‘यो ड्राफ्ट के हो ? यो षड्यन्त्र कसले ग¥यो ? यसबारे उहाँहरु चुपचाप हुनुहुन्छ ।’
 

विशेष