News

चार वर्ष नासु सरहको जागिर खाँदा ६ करोड भ्रष्टाचार !

चार वर्ष नासु सरहको जागिर खाँदा ६ करोड भ्रष्टाचार !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित उनी विरुद्ध आरोप पत्र दायर भएको हो। भण्डारीले चार वर्ष सरकारी सेवामा रहँदा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ ।

०७३ असोज २१ देखि ०७७ साउनसम्म नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेका भण्डारीले त्यस अवघिमा २६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेका थिए । आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार ६३६ रुपैयाँ ९ पैसा आर्जन गरेको, अख्तियारले जनाएको छ ।

तर, उनको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ ५३ पैसा देखिएको भन्दै अख्तियारले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसाको स्रोत नखुलेको जनाएको छ । 

अख्तियारले ६ करोड २४ हजार ४ हजार ६ रुपैयाँ ४४ पैसा बिगो कायम गरी विशेष अदालतमा शुक्रबार आरोपपत्र दायर गरेको हो । 

भिमकान्त भण्डारी

विशेष