देउवालाई नेपालको सुझावः ह्विस्कीको नशामा देश विरुद्ध सम्झौता गरिएला !
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमण गर्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘ह्विस्कीको नशामा देश विरुद्धका सम्झौतामा हस्ताक्षर गरिएला’ भन्दै सचेत गराएका छन् ।
शुक्रबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न देउवालाई सुझाए। कुटनीतिमा अनेक कुराको ख्याल गर्नु पर्ने भन्दै नेता नेपालले कहिलेकाहिं थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् ।
अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषय गम्भिर रुपमा अगाडि वढिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुने भन्दै ती कुराको ख्याल गर्नुपर्ने बताए ।
‘कूटनीतिका धेरै पक्षहरु हुन्छन् । कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर। यो सबै हुने भएको हुनाले ह्वीस्की खाएर नशाको बेलामा सही गरिएला ख्याल गर्नुहोला’– उनले भने।
अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को बारेमा सुरुदेखि अहिलेसम्म के–के भए भनेर पनि सरकारले यथार्थ जानकारी दिनुपर्ने नेता नेपालले बताएका छन् ।
एसपीपी माधवकुमार नेपाल शेरबहादुर देउवा