News

परराष्ट्र मन्त्री खड्का र एमाले नेता रावलको चर्काचर्की

परराष्ट्र मन्त्री खड्का र एमाले नेता रावलको चर्काचर्की

एसपीपी प्रकरणमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेकपा एमालेका सांसद डा. भीम रावल बीच चर्काचर्की भएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उनीहरु बीच भनाभन भएको हो।

एमाले नेता रावलले एसपीपीका विषयमा बोल्दै गर्दा परराष्ट्रमन्त्री खड्काले हस्तक्षेप गरेपछि रावल आक्रोशित भएका थिए । सो क्रममा अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले गत जेठ ६ गतेदेखि भएको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई भेटेकोबारे रावलले कडा आपत्ति जनाए।

‘अमेरिकी उपविदेशमन्त्री नेपाल भ्रमणका बेला जुन तिब्बती शरणार्थीको क्याम्पमा जानुभयो, त्यसलाई लिएर परराष्ट्र मन्त्रीले यो त नेपालको हितमा छ भन्नुभयो। देशको परराष्ट्रमन्त्रीले यस्तो बोल्ने हो भने स्वतन्त्र परराष्ट्र नीतिको रक्षा कसरी हुनसक्छ?’ रावले प्रश्न गरे। 

रावलले यती प्रश्न गरेपछि डा. खड्काले रावलको कुरा काट्दै आफ्नो कुरा राख्न खोजे। उनले ‘त्यस्तो नबोलेको’ भन्दै रावललाई रोके। लगत्तै रावलले आफूले रेकर्ड ल्याएर समितिमा देखाउन सक्ने चुनौती पनि दिए। 

त्यसपछि खड्काले ‘ल्याउनुस्, ल्याउनुस’ भन्दै रावललाई चुनौती दिए । यही क्रम केही वेरी जारी रह्यो। उनीहरुविच सवाल–जवाफ भए। दुईजनाबीच संसदीय समितिमा चर्काचर्की नै परेको अर्का एक सांसदले बताए ।

परराष्ट्रमन्त्री खड्काले दिएको प्रतिक्रियाले नेपालको परराष्ट्र नीतिमा विचलन आएको कुरा प्रमाणित गरेको पनि रावलले बताएका थिए। 
 

विशेष