News

सगरमाथाको आधारशिविर अर्को ठाउँमा सार्ने तयारी, यस्तो छ कारण 

सगरमाथाको आधारशिविर अर्को ठाउँमा सार्ने तयारी, यस्तो छ कारण 

विश्वतापमान वृद्धि र मानवीय गतिविधिका कारण असुरक्षा बढेको भन्दै नेपालले सगरमाथा आधारशिविर अर्को ठाउँमा निर्धारण गर्ने तयारी गरिरहेको छ। अहिले खुम्बु हिमनदीकै छेउमा आधारशिविर छ। तर उक्त हिमनदी तीव्र गतिमा पातलिँदै गइरहेको छ।

पर्वतारोहण गर्ने याममा आधारशिविरमा झन्डै १,५०० जना भेला हुन्छन्। एक अधिकारीले बताएअनुसार उक्त स्थानभन्दा केही तल बाह्रैमास हिउँ नहुने ठाउँमा नयाँ आधारशिविर राखिनेछ। हिउँ पग्लेर बन्ने पानीले हिमनदीलाई अस्थिर बनाएको अनुसन्धानकर्ताहरू बताउँछन् भने पर्वतारोहीका अनुसार उनीहरू सुतेका बेला ‘खर्पास’ (खाल्टो) पर्ने क्रम बढेको पाइएको छ।

‘अहिले हामी आधारशिविर अर्को ठाउँमा निर्धारण गर्ने तयारीमा छौँ र छिट्टै सम्बन्धित सबै पक्षसँग परामर्श सुरु गर्नेछौँ,’ पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले भने। “यो भनेको आधारशिविरमा भइरहेका परिवर्तनहरूलाई अनुकूलन गर्नु हो र पर्वतारोहण व्यवसायको दिगोपनका लागि यो आवश्यक पनि भइसकेको छ।’

अहिले सगरमाथाको आधारशिविर ५,३६४ मिटर उचाइमा छ। महानिर्देशक अधिकारीका अनुसार नयाँ आधारशिविर त्योभन्दा २०० देखि ४०० मिटर तल हुनेछ। सगरमाथा क्षेत्रमा हुने आरोहण सहजीकरण तथा निरीक्षणका लागि गठित एउटा सरकारी समितिको सिफारिसपछि यो तयारी थालिएको हो।

वैज्ञानिकहरूका अनुसार विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली क्षेत्रका अरू हिमनदीहरू जस्तै खुम्बु हिमनदी पनि तीव्र गतिमा पग्लिरहेको र खिइरहेको छ। लीड्स यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूले सन् २०१८ मा गरेको एउटा अध्ययनले उक्त हिमनदीले बर्सेनि ९५ लाख घनमिटर पानी गुमाइरहेको तथा आधारशिविरसँग जोडिएको भाग प्रत्येक वर्ष एक मिटरले खिइँदै गएको देखाएको थियो।

‘आधारशिविर क्षेत्रको हिउँ पातलिने गति हिमनदीको अरू क्षेत्रमा भन्दा तीव्र पाइएको छ। किनभने त्यतातिर चट्टान र रोडाको तह पातलो छ’ अनुसन्धानकर्तामध्ये एक स्कट वाट्सनले भने।

पर्वतारोही र नेपाली अधिकारीहरूका अनुसार आधारशिविरको बीचमा रहेको एउटा खोल्सो वर्षैपिच्छे बढ्दै गएको छ। साथै खर्पास तथा चिराहरू पहिलाभन्दा बढी देखिन थालेको उनीहरू बताउँछन्।

‘हामी सुत्ने ठाउँहरूमा आश्चर्यजनक रूपमा रातारात खर्पासहरू देखिने गरेका छन्’ नेपाली सेनाका कर्नेल किशोर अधिकारीले भने। उनी गत मार्चदेखि मे महिनाको अन्त्यसम्म चलेको सगरमाथा क्षेत्रमा सरसफाइ अभियानमा संलग्न थिए।

‘रातिको समयमा खर्पासमा परेर दुर्घटना हुन सक्ने डर बिहान उठेपछि हुन्थ्यो। सतहमा छिट्टै चिराहरू पर्ने गरेका छन्, एकदमै जोखिमपूर्ण हुन्छ’ उनले भने। सगरमाथा प्रदूषण नियन्त्रण समितिका व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पाले त्यस्तै अनुभव सुनाए।

हिउँ यताउता हुँदा अथवा चट्टान खस्दा प्रायः ठूलो आवाज सुन्न सकिने उनले बताए। आधारशिविर अब अन्यत्र तय गर्नुपर्ने सुझाव दिएको समितिका एक सदस्य खिमलाल गौतमले आधारशिविरमा धेरै मानिसहरूको उपस्थितिले समस्या सिर्जना गरेको बताए।

‘उदाहरणका लागि आधारशिविरमा मानिसहरूले एक दिनमा झन्डै ४,००० लिटर पिसाब फेर्छन्’ उनले भने ‘अनि आधारशिविरमा खाना पकाउन तथा तातोका लागि ठूलो मात्रामा मट्टितेल एवं ग्यास प्रयोग गर्दा निश्चित रूपमा हिमनदीको हिउँमा असर पारेको छ।’

हिमाली पथप्रदर्शनसम्बन्धी कम्पनी एल्पेनग्लो एक्स्पेडिशन्सका संस्थापक एड्रिआन बेलिङ्गर अहिलेको आधारशिविरमा भविष्यमा थप हिमपिहरो, आइसफल र चट्टान खस्ने जोखिम हुन सक्ने भएकोले अब अन्यत्र राख्ने योजना सही रहेको धारणा व्यक्त गर्छन्।

अझै अधिकांश पर्वतारोहीहरू नेपालपट्टिबाट सगरमाथा चढ्छन्, तर चीनपट्टिबाट चढ्ने क्रम बढ्न थालेको छ। छिरिङ तेन्जिङ शेर्पाका अनुसार समस्या भए पनि वर्तमान आधारशिविर अझै आधारभूत रूपमा स्थिर देखिन्छ र अर्को तीनदेखि चार वर्षसम्म त्यसलाई प्रयोग गर्न सकिन्छ।

तर अधिकारीहरूका अनुसार नयाँ आधारशिविर निर्धारण गर्ने कुरा सन् २०२४ सम्म हुन सक्छ। ‘हामीले प्राविधिक र पर्यावरणीय पक्ष हेरिसकेका छौँ, तर आधारशिविर अरू ठाउँमा निर्धारण गर्नुअघि हामीले सांस्कृतिक लगायतका पक्षबारे स्थानीय समुदायहरूसँग पनि छलफल गर्नुपर्ने हुन्छ’ महानिर्देशक अधिकारीले भने–‘सबै पक्षसँग छलफल गरेर मात्रै हामी त्यसो गर्छौँ।’
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।
 

सगरमाथा आधारशिविर

विशेष