मल बोकेका दुई वटा ट्रक धादिङमा स्थानीयद्वारा नियन्त्रण, मल लुटियो
![मल बोकेका दुई वटा ट्रक धादिङमा स्थानीयद्वारा नियन्त्रण, मल लुटियो](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/mal-53ed5.jpg)
भारतबाट भन्सार छलिगरी मल बोकेर काठमाण्डौं आउँदै गरेको ट्रक धादिङमा स्थानीयवासी किसानले नियन्त्रण गरेका छन् । धादिङको धुनिबेसी नगरपालिका– ६ धार्के बजारमा पुगेपछि ट्रक स्थानीय किसानहरूको कब्जामा परेको हो।
जानकारी अनुसार भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएको थियो। पछि व्यापारीहरूको संलग्नतामा किसानहरूलाई जानकारी गराएका थिए । मलको अभाव भोगिरहेका किसानहरूले बाटोमै ट्रक नियन्त्रणमा लिएर मल बोकेर गएका छन्।
करिव ५ सय जना किसानले पृथ्वी राजमार्गमा ट्रक नियन्त्रणमा लिई मल लिएर गएको जनाईएको छ।
विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल ‘लुट्न लगाएको’ किसानहरूले बताएका छन् ।
किसानहरूले मल कब्जा गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहारसमेत गरेको छ । मलको बोरा वोक्दै गरेका महिलालाई सशस्त्र प्रहरीले बन्दुकका कुन्दाले हिर्काउँदै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा अपलोड भएको छ।