News

मन्त्री आलेको दावीः निगमका कुनै पनि कर्मचारीलाई हातपात गरेको छैन

मन्त्री आलेको दावीः निगमका कुनै पनि कर्मचारीलाई हातपात गरेको छैन

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि हातपात गरेको आरोपको मन्त्री प्रेम आलेले खण्डन गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले कुनै पनि कर्मचारीमाथि दुर्ब्यवहार नभएको दावी गरेका छन् ।

कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुरब्र्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन’ उनले भनेका छन्–‘यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र प्रशासनले सिसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ ।’

कतिपय कामहरुमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुनसक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर पनि रहने भन्दै मन्त्री आलेले पछिल्ला दिनमा उडान संख्या वृद्धि हुँदै गएको तर जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृतिम अभाव गराई आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि स्थानीय तहको चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको उनले बताए ।

नेपाल वायुसेवाका अध्यक्षमाथि आएका कार्यालयभित्रै तथा सर्वसाधारण नागरिक र सेवाग्राहीका गुनासाका विषयलाई मन्त्रालयले अध्ययन गरेर अध्यक्षलाई सम्झाइबुझाइ गरी सुधारका लागि कैयौँ पटक मौका दिए पनि त्यसमा सुधार नआएको मन्त्री आलेको दावी छ।

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले भने मन्त्री आलेले एक जना कर्मचारीलाई कार्यालयमै वोलाएर अस्लिल गाली गरेको ट्वीटरमा लेखेका छन् । ‘माननीय मन्त्री प्रेम आलेजी मेरो साथी पनि हो । बिगतमा प्रेमजी साथीहरूको लागि अति सहयोगि पनि हो जस्तो लग्दथ्यो।  तर  मन्त्री  बने  पछि के भुत जीउमा चढेछ। आफ्नो अफिसमा एक कर्मचारीलाई बोलाएर अस्लिल गाली गरेर हातपात पनि गर्ने काम भएको अडियोमा सुन्दा दुखित छु ।’ उनले लेखेका छन् ।

विशेष