नेपालकै कारण विश्वयुद्ध हुन सक्ने नेता रायामाझीको चेतावनी
![नेपालकै कारण विश्वयुद्ध हुन सक्ने नेता रायामाझीको चेतावनी](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/topbahadur.jpg)
नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालकै कारण तेस्रो विश्वयुद्ध हुन सक्ने चेतावनी दिएका छन् । विश्व राजनीति नै तरंगित बनेको र नेपालले सावधानी नअपनाए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिए।
शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता रायमाझीले अहिले भने–‘विश्वव्यापी रुपमा टक्कर भैरहेको छ, दुनियाँका मुलुकहरु विभाजित रुपमा गएका छन्। हामीले सन्तुलित विदेशी नीति अपनाउनुपर्छ। हामी कुनै देशतर्फ ढल्किनु हुँदैन। घोषित नीतिभन्दा बाहिर जानुहुँदैन। दलहरुले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ।’
आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयो भने नेपालकै कारणले पनि विश्वयुद्ध निम्तिन सक्नेतर्फ उनले सचेत गराए। ‘यदि हामी आफ्नो नीति र अडानमा अडिग रह्यौं भने त्यो विश्वयुद्ध पनि रोक्न सकिन्छ। देश सानो वा ठूलो भएर हुँदैन। नीतिमा अडान हुनुपर्छ’– उनले भने।
उनले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताए। एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ।
‘जहाँ–जहाँ जसको पालामा, जुनस्तरको प्रस्ताव गएको भए पनि, ज–जसको पालामा सम्झौता भए पनि सम्पूर्ण दलहरु, कांग्रेसले पनि यसलाई अघि बढाउन हुन्न भनेको छ। यस विषयमा आम सहमतिजस्तो देखिन्छ। यो खुसीको कुरा हो,’ उनले भने।
अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरुले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए।