News

जनकपुरका उपमेयर किशोरी साह माथि महिलाद्वारा चप्पल प्रहार

जनकपुरका उपमेयर किशोरी साह माथि महिलाद्वारा चप्पल प्रहार

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि एक महिलाले चप्पलले हानेकी छिन् । अतिक्रमण परेको जग्गा खाली गर्न माग गर्दै आएको समुहमा रहेकी महिलाले उनलाई चप्पलले हानेकी हुन।

जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै त्यहाका स्थानीयवासी ज्ञापन पत्र बुझाउन आएका थिए। बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा वेचविखन भईरहेको उनीहरुको गुनासो छ। उक्त जग्गा टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै स्थानीय वासिन्दाले त्यसलाई रोक्न माग गरिरहेका छन् ।

सोही विषयमा नगर प्रमुख मनोज कुमार साह सुडीलाई ज्ञापन पत्र वुझाउन आएका स्थानीयले नगर प्रमुखलाई नभेटेपछि उपप्रमुख किशोरी साहलाई नै ज्ञापन बुझाए । ज्ञापन पत्र बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्ने क्रममा आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएपछि उनीमाथि आक्रमण सुरु भएको थियो।

सोही क्रममा समूहबाटै एक महिलाले उपप्रमुख साहमाथि चप्पल प्रहार गरेकी थिईन। उपप्रमुखमाथि आक्रमण सुरु भएपछि पुगेको प्रहरीले उनलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको स्थानीयले वताएका छन् । चप्पल प्रहार गर्ने महिलाको पहिचान भईनसकेको जनाईएको छ। 
 

विशेष