News

जापान वस्ने मान्छेको मृत्यु दर्ता वनाएर ७ करोडको जग्गा विक्रि, ५ जना पक्राउ

जापान वस्ने मान्छेको मृत्यु दर्ता वनाएर ७ करोडको जग्गा विक्रि, ५ जना पक्राउ

जग्गाधनीको नक्कली मृत्यु दर्ता प्रमाणपत्र र नक्कली श्रीमान बनाएर कीर्तिपुरको कीर्तिपुर नगरपालिका–२ स्थित ११ आना २ पैसा जग्गा बिक्री गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दार्चुलाको साविक उकु गाविस–६ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका– बस्ने वर्ष ५६ को महावीर चन्द,  सिन्धुपाल्चोकको थकनी गाविस–३, हाल मेलम्ची नगरपालिका–४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल,  सोलुखुम्बुको साविक नेले गाविस–४ हाल परिवर्तित थुलुङ दुधकोशी गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ–२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की,  नुवाकोटको साविक दाङसिङ गाविस–८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस–२ घर भइ हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार जग्गा धनी शान्तिदेवी लोहनी ०५५ सालदेखि जापानमा बस्दै आएकी थिईन। उनले नेपाल आउँदा ०६१ माघ १३ मा काठमाडौंको किर्तीपुर नगरपलिका–२ मा कि.नं ३४४ को उक्त जग्गा खरिद गरेर पुनः जापान गएकी थिईन।

उनी जापान गएपछि गिरोहले नक्कली कागजपत्र र नक्कली श्रीमान खडा गरी सात करोड रुपैयाँ मूल्य पर्ने उक्त जग्गा विक्रि गरेको पाईएको छ। जग्गा विक्रिका लागि शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र वनाउने देखि श्रीमान पनि नक्कली खडा गरिएको पाईएको छ। गिरोहले महावीर चन्दलाई शान्तिदेवीका पति तारानिधी लोहनी बनाएर प्रस्तुत गरेको पाईएको छ।

जग्गाधनी शान्तिदेवी लोहनी नेपाल आएका बेला जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न जाँदा जग्गा बिक्री भइसकेको खुलेको थियो । मालपोत कार्यालय, कलंकीले सो जग्गा शान्ता देवी लोहनीको नामबाट मृत्यु नामसारी भई २०७७ पुस १५ गते निजको श्रीमान् तारानिधि लोहनीको नाममा गएको र त्यसपछि लोहनीको नामबाट २०७७ फागुन १० गते बिक्री भई सुनिता कर्माचार्यको नाममा गई सकेको वताएको थियो।

जग्गा नामसारीमा शान्ता देवी लोहनीको ०७७ भदौ १३ गते नै कालगतिले मृत्यु भएको कागजात पेश गरिएको छ। नक्कली तारानिधि लोहनीको नाममा जग्गा नामसारी गरेपछि साविक काभ्रेस्थली नगरपालिका–११ बस्ने सुनिता कर्माचार्यलाई ३ करोड ७० लाखमा ०७७ फागुन १० गते मालपोत कार्यालय, कलंकीबाट बिक्री गरि सकेको देखिएको छ।

यो सवै जानकारी पाएपछि शान्तिदेवी प्रहरीसमक्ष पुगेकी थिईन। उनले लिखत ठगी सम्बन्धी कसूर मुद्दामा असार १ गते ब्यूरोमा जाहेरी दिएकी थिइन्। उनको उजुरीपछि गिरोहमा संलग्नहरुलाई काठमाडौं र चितवनको विभिन्न स्थानबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ।

पक्राउ परेको गिरोहले विभिन्न स्थानको अन्य अन्दाजी ४ विगहा जग्गासमेत विभिन्न किर्ते कागजातहरुको आधारमा नक्कली कम्पनी तथा जग्गा धनीहरु समेत खडा गरी बिक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने तयारी गरेको पाइएको प्रहरीले जनाएको छ। 

जग्गा बिक्री नक्कली मृत्यु दर्ता

विशेष