बलात्कार आरोपी पाण्डे पुर्पक्षका लागि कारागार चलान
![बलात्कार आरोपी पाण्डे पुर्पक्षका लागि कारागार चलान](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/manoj-pande.jpg)
सौन्दर्य प्रतियोगिताकी एक सहभागिलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे भनिने मनोज कुमार जैशीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
उनी विरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसुरमा अनुसन्धानमा भईरहेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक युवतीलाई पाण्डेले वलात्कार गरेको आरोप छ। पाण्डेले ति सहभागिलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना स्वयम पीडित महिलाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन् ।
हाल २४ वर्षीया ती युवतीले आफू १६ वर्षकी हुँदा सुरुमा पाण्डेले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरी निरन्तर शोषण गरेको दावी गरेकी छिन्। पाण्डे विरुद्ध अर्की एक बालिकाले पनि आफूमाथि शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।
उनी विरुद्धका घट्ना सार्वजनिक हुन थालेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। बलात्कार मुद्दामा घटना भएको मितिको एक वर्षभित्रैमा मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्ने हदम्याद भएका कारण उक्त घटनामा पाण्डेलाई बलात्कारमा अभियोजन गरिएको छैन।
प्रहरीले गत जेठ २७ गते मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा पेस गरेको छ। पाण्डेले होटल पु¥याएर बेहोस बनाई यौन शोषण गरेको र त्यसबापत पैसा दिएको कार्य मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणसम्बन्धी कानुनअनुसार बेचबिखनअन्तर्गत पर्ने भन्दै उनलाई त्यसमै अभियोजन गरिएको प्रहरीले जनाएको छ।
गत जेठ ७ गते पक्राउ परेका पाण्डेलाई त्यसयता अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियो ।