News

इन्धनमा मुल्यवृद्धिको विरोध गर्दै वुटवल र विराटनगरमा प्रदर्शन

इन्धनमा मुल्यवृद्धिको विरोध गर्दै वुटवल र विराटनगरमा प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै वुटवल र विराटनगरमा प्रदर्शन र चक्का जाम भएको छ। 

बुटवलमा नेकपा एमाले निकट अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा टायर बालेर केहीबेर सवारी साधन बन्द गरेका छन् । अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए ।

मूल्य वृद्धि तत्काल फिर्ता नभए जिल्लाव्यापी आन्दोलन चर्काउने पोखरेलले चेतावनी दिए ।

यसैगरी,  विराटनगरमा यातायात व्यावसायी र मजदुरले नै चक्काजाम गरेका छन् । कोसी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर उनीहरुले यातायात अवरुद्ध गरेका हुन् ।

नेपाल आयल निगमले आइतबार रातिबाट डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।
 

मुल्यवृद्धि

विशेष