News

एकीकृत समाजवादीका मन्त्री हेरफेरमा देउवाले किन गर्दैछन् आलटाल ?

एकीकृत समाजवादीका मन्त्री हेरफेरमा देउवाले किन गर्दैछन् आलटाल ?

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेको लामो समय वितिसक्यो। तर, त्यो निर्णय कार्यान्वयन भएको छैन। अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्यन गर्न प्रधानमन्त्री शेरवहादुर देउवालाई पटक पटक ताकेता गरे पनि देउवाले मानेका छैनन् ।

नेकपा एसले जेठ २१ गते नै पाँच मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो। जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र कानुन मन्त्री गोविन्द बन्दी थिए।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने फुल मन्त्री मन्त्री बनाउन सिफारिस गरिएको थियो भने सहरी विकासमा मेटमणि चौधरी, पर्यटनमा जीवनराम श्रेष्ठ, श्रममा गैरसांसद शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । पार्टीले निर्णय गरेर सिफारिस गरेपनि मन्त्री बन्ने पक्का भएकाहरू अहिले अन्योलमा छन् ।
 
प्रधानमन्त्रीलाई समाजवादीका तर्फबाट मन्त्री भएकाहरूले नै अहिले सरकारबाट नहटाउन दबाब दिएका कारण पार्टीको निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको धेरैको बुझाइ छ । तर, कतिपयले भने प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुमाथि आई पर्ने समस्याबाट जोगिन समाजवादीको निर्णय कायान्वयन नगरेको वुझेका छन् ।

अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई मन्त्री फेरबदल गर्नु पर्ने कुरा सुनाउँदा सुरूमा आनाकानी गरेपनि पछि सहमत भएका थिए । तर पछिल्लो समय उनी फेरी वहाना वनाउन थालेको नेताहरुको वुझाई छ।

मन्त्री हेरफेरको विषय कार्यान्वयन नगर्नुमा धेरै कारणहरू रहेको नेकपा एकीकृत समाजवादीका नेताहरू बताउँछन् । पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले ६ महिनाका लागि पठाएका मन्त्री ८ महिनापछि फिर्ता बोलाउँदा पनि निर्णय कार्यान्वयन नहुनुमा पार्टीबाटै केही कमजोरी भएको बताए । 

कांग्रेस र माओवादी भित्रैको समस्याले पनि आफूहरूको निर्णय कार्यान्वयन हुन नसकेको नेकपा एसका नेताहरुको वुझाई छ। ‘मन्त्री हेरफेर गर्नु पर्ने विषय नेपाली कांग्रेसमा तीब्र छ तर, त्यो बाहिर देखिँदैन’ उनीहरु भन्छन्–‘त्यो भन्दा चर्को माओवादीमा छ । त्यस्तै जसपामा छ। यी सबै कारणले हाम्रो निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको हो ।’

यो कुरा आईतवार नयाँ बानेश्वरमा आयोजित सम्पादकहरुसँगको छलफलमा पनि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले पुष्टि गरे। मन्त्री हेरफेरबारे भएको आलटाल र ढिलासुस्तीबारे उनले असन्तुष्टि पनि प्रकट गरे।

‘खासगरी प्रधानमन्त्रीले र माओवादीका साथीहरुले हाम्रोभित्र पनि अब त्यस्ता मागहरु आइरहेको हुनाले केही दिन पर्खिदिनुपर्यो भनेको हुनाले अब एक–दुई दिन पर्खिने कुरा नै हुन्छ’ उनले भनेका थिए–‘आज पनि यस सम्बन्धमा कुराहरु उठेको छ। छिटै अब मन्त्रीहरुको परिवर्तन गर्ने कुरामा प्रधानमन्त्रीजीले भन्नुभएको छ।’

एकीकृत समाजवादीका मन्त्रीहरु फेर्दा माओवादी र काँग्रेसभित्र पनि दबाव पर्ने भएकाले देउवा र प्रचण्ड दुबैले आपसी मिलेमतोमा एकीकृत समाजवादीको निर्णयलाई कार्यान्वयन नगरेको नेता नेपालको भनाईबाट देखिन्छ।

मन्त्रीहरुको काम गराइप्रति नेता नेपालले असन्तष्टि पनि जनाएका छन् । ‘मैले सन्तुष्ट छु भनौं त्यो पनि समस्या। सन्तुष्ट छैन भनौं, भोलिको समाचार त्यही बन्छ। भन्न पनि बडो गाह्रो’ उनले घुमाउरो पारामा भनेका थिए–‘त्यसो हुनाले मैले के भन्छु भन्दाखेरि कामको समीक्षा गर्नुपर्छ। कमी कमजोरी रहेका छन् भने सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ। के–के कमी कमजोरी भए भन्ने कुरालाई अलि मसिनो गरी खोतल खातल गर्नुपर्छ र अगाडि बढ्ने आँट गर्नुपर्छ।’
 

नेकपा एकीकृत समाजवादी

विशेष