News

टिकटकमा भेटिएकी युवतीसँग विवाह गर्न आफै अपहरणको नाटक

टिकटकमा भेटिएकी युवतीसँग विवाह गर्न आफै अपहरणको नाटक

आफनै अपहरणको नाटक गरेर परिवारसँग २० लाख रुपैयाँ फिरौती माग गर्ने सप्तरीको राजगढ गाउँपालिका ३ घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३१ वर्षीय कृष्णकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

आफनो अपहरणको नाटक गरेर उनले आफनै सालोसँगको २० लाख रुपैयाँ फिरौती मागेका थिए । टिकटकमा भेटिएकी एक महिलासँग प्रेम वसेको र उनैसँग विवाह गरेर घर वसाउन उनले अपहरणको नाटक गरेको प्रारम्भिक अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनी विवाहित हुन्। उनका दुई जना छोरा र छोरी पनि छन् । तर, दोस्रो विवाह गरेर घरवार वसाउन उनले सालोसँग पैसा उठाउन खोजेको देखिएको छ।

प्रहरीका अनुसार काठमाण्डौंमा फर्निचरमा काम गर्ने कृष्ण गत असार १ गते परिवारलाई पैसा पठाउन आईएमई जान्छु भन्दै हिडेका थिए । त्यसपछि उनी सम्पर्कविहीन भए र मोबाइल पनि स्विच अफ भयो। उनलाई केटै खोज्दा पनि नभेटिएपछि परिवारका सदस्य आत्तिए।

तर, यसैविचमा उनले प्रयोग गर्दै आएको इमोबाट कृष्ण कुमार अपहरणमा परेको भन्दै म्यासेज आयो। ‘उनलाई मार्नका लागि आठ लाख रुपैयाँ प्राप्त भएको तर २० लाख दिए छोडिदिने’ भन्दै म्यासेज आएपछि परिवारमा कोलाहल सुरु भयो। अपहरणकारीले दुई दिनभित्र भने जति रकम दिनुपर्ने र प्रहरीलाई खवर गरे मारिदिने धम्की पनि म्यासेजमा दिएको थियो।

अपहरणकारी बनेर उनले आफै अपहरणमा परेको भिडियो क्लिप र फोटो पनि पठाए । त्यसपछि उनको परिवारका सदस्य प्रहरी वृत्त सातदोबाटोको सम्पर्कमा पुगे। उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोग लिएर सातदोबाटो वृत्तले उनको खोजी सुरु गर्यो।

खोज्ने क्रममा कृष्णकुमार विराटनगरमा रहेको जानकारी पाएपछि प्रहरीले उनलाई सुरक्षित र सकुसल अवस्थामा फेला पार्यो। प्रहरीका अनुसार सोधपुछका क्रममा उनले आफु प्रेममा परेको र ती महिलासँग विवाह गर्नका लागि पैसा चाहिएकाले अपहरणको नाटक गरेको बताएका छन् ।

दोस्रो विवाह गर्न उनले पैसाचाहिँ सालोबाट लिन खोजेको पाईएको प्रहरीले जनाएको छ। उनीहरु साला भेना एकै ठाउँमा फर्निचरकै काम गर्छन्। 

शर्माविरुद्ध प्रहरीले सार्वजनिक उपद्रयाईं गर्न नहने कसुर अन्तर्गत थप अनुसन्धान गरिरहेको छ।
 

अपहरण

विशेष