News

विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै 

विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै 

अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा नेपाली सेनाको मुख्यालयमा पनि कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले लगायत सहभागी भएका छन् । 

यसैगरी, काठमाडौंस्थित भारतीय दूतावासले आज विहान आयोजना गरेको कार्यक्रममा पनि प्रधानमन्त्री देउवा र मन्त्रीहरू सहभागी भए । दुतावासले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले योगाभ्यास गर्दै गरेको फोटो सामाजिक सञ्जालमा शेयर गरेको छ।

दिवसको अवसरमा सोमवार स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र (आईसीसीआर नेपाल) ले काठमाडौंको युनेस्कोको विश्व सम्पदा स्थल (बौध स्तूपा) मा विशेष बाल योग सत्र आयोजना गरेको थियो। यसैगरी, सोमवार साँझ धरहरामा प्रविधिको प्रयोग गरी योग दिवसको सन्देश प्रवाह गरिएको थियो।

यस अघि स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास तथा काठमाडौंका योग शिक्षकहरूले महिला र बालबालिकाका लागि दुईवटा विशेष योगाभ्यास सत्र सञ्चालन गरेका थिए ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए।

प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए । 
 

अन्तर्राष्ट्रिय योग दिवस

विशेष