News राजनीति

काठमाण्डौं ४ मा गगन थापालाई ई.आकर्षण पोखरेलको चुनौती

काठमाण्डौं ४ मा गगन थापालाई ई.आकर्षण पोखरेलको चुनौती

नेपाली कांग्रेसका नेता गगन थापाले चुनाव जित्दै आएको काठमाण्डौं ४ मा ई.आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनलाई नायक आर्यान शिक्देलले साथ दिएका छन् । 

मंगलवार विहान काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले आफूले योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार मानेर चुनावमा होमिएको वताए।

गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताएका उनले आफूले राजनीतिमा जित्ने दावी गरे। 

क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले आफ्नो तीनचरणको घरदैलोमध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट शुरु भएको बताए । पहिलो घरदैलोमा समस्या वुझेर ती समस्याहरुको बारेमा आफ्नो विज्ञ समूहले अध्ययन गरेपछि दोस्रो चरणमा समाधानका उपाय ल्याउँने र तेस्रो चरणमा मत माग्न घरघरमा आउँने बताए ।

आफू कसैलाई गाली गरेर नेता बन्न नचाहेको तर विकास गर्न सक्ने योजना र त्यसका लागि ५ वटा सुत्र रहेको वताए । विकासका लागि भनेर हुन तथा गरेर हुने दुई प्रकारका एजेण्डा रहेको भन्दै उनले बालेन शाहले भनेकै भरमा सार्वजनिक शौचालय उपलब्ध भएको बताए । 

पोखरेलले उम्मेदवारी घोषणा गरेको क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई पटक चुनाव जितेको क्षेत्र हो । ०७४ सालको निर्वाचनमा उनले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका थिए।

थापाले २१ हजार ५ सय ५१ मत पाउँदा भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए । यसअघि ०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।

तर, वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनको क्षेत्रका अधिकांश वडामा कांग्रेसले पराजय भोगेको छ। काठमाडौं क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगपालिकाका गरी १२ वटा वडा पर्छन् । यी १२ वटा वडाका कुनै पनि वडाध्यक्ष कांग्रेसले जित्न सकेको छैन।

बुढानिलकण्ठको मेयर र उपमेयर दुवै एमालेले जितेको छ भने वडा नं. १, २, ८, ९, १०, ११, १२ र १३ मा कांग्रेस वडाध्यक्षमा नील भए। यी सबै वडा एमालेले जितेको छ। वडा नं. १ मा कांग्रेस दोब्बर मतले पराजित भयो । केही वडाबाहेक सबैमा भारी मतले कांग्रेस पराजित हुन पुगेको छ ।
 

गगन थापा आकर्षण पोखरेल

विशेष