News

प्रधानमन्त्रीले टेरपुछर नलाएपछि नेकपा एसले गर्यो दबाव दिने निर्णय

प्रधानमन्त्रीले टेरपुछर नलाएपछि नेकपा एसले गर्यो दबाव दिने निर्णय

प्रधानमन्त्री शेरवहादुर देउवाले टेरपुछर नलगाएपछि नेकपा एकीकृत समाजवादीले पार्टीको निर्णय कार्यान्वयन गर्न दवाव दिने निर्णय गरेको छ। मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाव दिने निर्णय गरेको हो।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको एक नेताले वताए । 

एकीकृत समाजवादी पार्टीले जेठ २२ गते सरकारमा सहभागी पाँचमध्ये चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। हाल सरकारमा रहेका मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय भएको थियो।

त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो । तर, उक्त निर्णयलाई कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले चासो देखाएका छैनन्। पार्टीको निर्णयमा पर्यटनमन्त्री आलेसहित बाधक बनेका छन्।

आलेले सार्वजनिक रुपमा पार्टीको निर्णय मान्ने बताए पनि पद जोगाउन उनैले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लविङ गरेको खुलेको छ। यो विषय खुलेपछि उलने पार्टीका नेताहरुलाई चिप्ले किरा भन्दै आलोचना गरेका थिए ।

मन्त्री हेरफेर लगायतका विषयमा निर्याय गर्न सत्ता गठबन्धनको बैठक पनि चलिरहेको छ। बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा मन्त्रीहरूको हेरफेर र आम निर्वाचनको मितिबारे समेत छलफल हुने नेताहरूले बताएका छन् । यसैगरी, स्थानीय चुनावको समीक्षा, सरकारका कामकारबाही र आगामी प्रदेश र संघको निर्वाचनका विषयमा छलफल हुनेछ । स्थानीय निर्वाचनमा चुनावी तालमेल गरेका दलहरुले चुनावपछि संयुक्त रुपमा समीक्षा गरेका छैनन् ।
 
 

नेकपा एकीकृत समाजवादी

विशेष