न्यायाधिश र वकिलको घुस वार्गेनिङ प्रकरणमा बोले ज्ञानेन्द्र शाही

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवम् कानुन व्यवसायी रुद्रप्रसाद पोखरेलको घुस प्रकरणमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्रवहादुर शाही बोलेका छन् ।
शाहीले न्याय परिषदलाई पत्र लेखेर कोइराला र पोखरेललाई कारावाही गर्न माग गरेका छन् । कोराईराला र पोखरेल बीच घुस लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि राप्रपाले न्याय परिषदलाई लेखेको पत्रमा दुवैलाई पदबाट हटाई कारबाही गर्न माग गरेको छ ।
पत्रमा न्यायालयप्रतिको विश्वास र भरोसालाई डगमगाउन नदिइ कानुनी राज्यको प्रत्याभूति दिलाउन न्यायाधीश कोइरालालाई आइन्दा कुनै पनि न्यायीक तथा कानुनी कार्यमा संलग्न हुन नपाउने गरी कारबाही गर्न माग गरिएको छ ।
पत्र बुझाउएपछि प्रतिक्रिया दिदै शाहीले सर्वसाधारणलाई थुन्न मिल्ने घुस खाने न्यायाधिशको विषयमा अनुशन्धान गर्न किन नमिल्ने भन्दै प्रश्न गरे। ‘एउटा फुटपाथमा कपडा बेच्नेलाई हिरासतमा लगेर अनुसन्धान गर्न मिल्ने, करोडौं रकमको घुस बार्गेनिङ गर्ने न्यायाधीशलाई हिरासतमा लगेर किन अनुसन्धान गर्न नहुने ?’ उनले प्रश्न गरे।
बैंकिङ कसुरमा पक्राउ परेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउन २ करोड लेनदेन सम्बन्धी कुरा गरेको कोईराला र पोखरेलको फोन वार्ता सार्वजनिक भएपछि न्याय परिषदले न्यायाधीश कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ भने नेपाल बार एशोसिएसनले वकिल पोखरेलसँग स्पष्टीकरण सोधेको छ ।