News अर्थ

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।

देशकै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले शुक्रवार अनुमानित बजेट ल्याएको हो । नगरसभामार्फत उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् । 

विनियोजित कुल बजेट मध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको महानगरले जनाएको छ । जुन कुल विनियोजित बजेटको २.२४ प्रतिशत हो । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ । जुन कुल बजेटको २०.९६ प्रतिशत हो ।

यस्तै, पूर्वाधार क्षेत्र विकासका लागि कुल बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट छुट्याइएको डंगोलले बताइन् । बजेट खर्चको स्रोत व्यवस्थापनतर्फ महानगरले सञ्चितकोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार बाहेक सामाजिक सुरक्षा भत्ता, संघीय सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट प्राप्त हुने र स्थानीय सञ्चितिकोष बाहेकको बजेटमा समावेश हुने ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहेको महानगरपालिकाले जनाएको छ ।

यो बजेट चालु आर्थिक वर्षभन्दा ६ अर्ब ४६ करोड रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा महानगरले १८ अर्ब ९५ करोडको बजेट विनियोजन भएको थियो । महानगरले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ८ अर्ब ८० करोड आम्दानी गरेको छ । 
 

विशेष