News

विदा भए नेकपा एसका दुई मन्त्रीः आक्रोशित आले, रुँदै वसिन झाँक्री

विदा भए नेकपा एसका दुई मन्त्रीः आक्रोशित आले, रुँदै वसिन झाँक्री

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट सरकारमा रहेका दुई मन्त्रीले राजिनामा दिएका छन् । पार्टीले जेठ २२ गते नै उनीहरुलाई फिर्ता बोलाउनले निर्णय गरे पनि उनीहरु पार्टीमा वार्गेनिङ्ग गर्दै वसेका थिए।

उनीहरु मध्ये आईतवार सहरी विकासमन्त्री रामकुमारी झाँक्री र पर्यटनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका छन्। राजिनामा वुझाएपछि उनीहरु दुवै जनाले आ–आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरे।

पत्रकार सम्मेलनमा आले आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए। आलेले राजिनामा पत्र पढेर सुनाए। आलेले पर्यटनमन्त्री र सचिव कुन व्यक्तिलाई नियुक्त गर्ने भनेर ठूला निजी एयरलाइन्स कम्पनीहरुको ठूलो चलखेल गर्ने गरेको आरोप लगाए।  आफूले कहिल्यै पनि कानुनविपरीत काम नगरेको उनले दाबी गरे।

पार्टीका नेताको ‘प्रेसर’ले नियुक्तिमा केही नराम्रा मान्छेलाई पनि नियुक्ति दिनु परेको बताए। उनले कसलाई, कुन  नेताको दबावमा कहाँ नियुक्त गरिएको हो भन्ने खुलाएनन् । उनले नेपाल वायुसेवा निगममा युवराज अधिकारीलाई नियुक्त गरेका थिए । आलेले अश्लिल गाली गलौज गरेको अडियो सार्वजनिक भएपछि अधिकारीलाई सरकारले निलम्बन गरेको थियो ।

यता, झाँक्री भने रुदै पत्रकार सम्मेलनमा आएकी थिईन। आफू बोल्न सक्ने अवस्थामा नरहेको बताइन् र अनौपचारिक कुराकानी गर्न थालिन्। मन्त्रालयका कर्मचारीले मन्त्रीको प्रशंसा गरे। उनले आफूलाई रिस उठ्ने प्रश्न सोध्न पत्रकारहरुलाई आग्रह गरिन्। 

मन्त्रीबाट फिर्ता हुन किन यति सकस भन्ने आशयको प्रश्नमा उनले पार्टीबाट निर्णय भएपछि फिर्ता हुनुपर्ने कुरा सामान्य भएको बताउँदै कसरी फिर्ता हुने भन्ने कुरा चाहिँ महत्वपूर्ण हुने बताइन्। 

विशेष