News

माधवलाई योगेशको चेतावनी– मुख छाड्दै हिँड्ने हो भने मलाई त्योभन्दा धेरै आउँछ

माधवलाई योगेशको चेतावनी– मुख छाड्दै हिँड्ने हो भने मलाई त्योभन्दा धेरै आउँछ

नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘मुख छाड्दै हिँड्ने हो भने आफूलाई पनि त्योभन्दा धेरै मुख छाड्न आउने’ भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्हालिन चेतावनी दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा ‘१० बुँदे सहमति गरेर एमालेमै बसेका नेताहरु दास बनेको’ टिप्पणी गरेका थिए । नेपालको उक्त टिप्पणीप्रति आक्रोशित नेता भट्टराईले भने–‘माधव नेपालजस्तो शीर्ष नेता‚ त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनु पर्छ ।’

अध्यक्ष नेपालले ‘१० भाइ एमालेका दास हौ, तिमीहरूले हाम्रो खैरो खन्छौ’ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकाले सन्न्यास लिएर बस्न सुझाव दिए। आफूले गरेका गल्तीहरूलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पिएर आफू आनन्दले बस्न नेपाललाई उनको सुझाव छ।

‘उहाँ जीवनको उत्तराद्धमा हुनुहुन्छ, राजनीतिको पनि उत्तराद्र्धमा हुनुहुन्छ’ भट्टराईले भने–‘उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु ? उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् ।’ अवकाश लिने बेलामा नेपाल अर्को पार्टी बनाउने भन्दै धुलो उडाउँदै हिँडेको भट्टराईको भनाई छ। ‘असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीहरूलाई रिलाइजेसन गरेर अब नयाँ पुस्तालाई राजनीति सुम्पिएर आफू आनन्दले बस्ने, सन्यासी मान्छेले मुख छाड्दै हिँड्दैनन्’ उनले भने–‘अब माधव नेपाल पनि सन्यासी भएर बस्ने हो, मुख छाड्दै हिँड्ने होइन ।’

विशेष